‘महाजात्रा’ टिमले मनोज पण्डितलाई गाडी किन्दिँदै !
काठमाडौं । गत वर्षको चैत ९ गते रिलिज भएको चलचित्र ‘महाजात्रा’ले ब्लक बस्टर कमाई गर्यो । करिब तीन करोड रुपैयाँमा बनेको चलचित्रले २३ करोडभन्दा धेरै ग्रसकलेक्सन गर्यो ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया थिए । निर्मातामा दीपेश खत्री म्याक्स र यज्ञेश्वर पौडेल थिए ।
चलचित्रको कलाकारमा यसका अघिल्लै सिरिजका कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत तथा हरिवंश आचार्य थिए । चलचित्रले सोचेभन्दा पनि धेरै कमाइ गरेको थियो ।
प्रदीप भट्टराईले लेखेको सिनेमाको कथामा आइडिया र कति प्लटमा मनोज पण्डितले सहयोग गरेका थिए । प्रायः प्रदीपका सबै चलचित्रको कथामा मनोज ब्याकबोन नै हुन् । ‘जात्रा’को पहिलो सिरिज सुटिङमा जानुभन्दा एक साता अगाडि मनोजले स्क्रिप्ट पढेर कथा नै पूरै चेन्ज गर्न सल्लाह दिएका थिए ।
मनोजले दिएको आइडिया अनुसार प्रदीपले स्क्रिप्ट तयार पारेका थिए । जसका कारण पूर्वनिर्धारित मितिमा यो चलचित्र छायांकन नभएर पछि भएको थियो ।
पछिल्लो समय मनोज स्क्रिप्ट डक्टरको रुपमा परिचित छन् । उनले धेरैका चलचित्रको स्क्रिप्ट पढेर सल्लाह दिने गरेका छन् ।
‘महाजात्रा’ टिमले मनोजलाई क्रेडिटलाइनमा स्क्रिप्ट डक्टरको क्रेडिट त दिएको छैन । तर उनले यो सिनेमाको स्क्रिप्ट सुरुदेखि नै हेरेका थिए ।
‘जात्रा’को टिमसँग पहिलो चलचित्रदेखि नै निकै क्लोज रहेका उनी अरु टिमसँग जस्तो मोलमोलाई गरेर पारिश्रमिक लिँदैनन् । तर, उनलाई यो पनि फाइदा नै भएको छ । ‘महाजात्रा’मा झन फाइदा हुने बुझिएको छ । सिनेमाको ब्लकबस्टर कमाइको सबैभन्दा धेरै फाइदा मनोजलाई हुने खबर आएको छ ।
‘महाजात्रा’को टिमले मनोजलाई गाडी सिक्दै गर्न भनेको आर्टखबरले सूचना पाएको छ । गाडी सिक्दै गर्नु भन्नुको सोझो अर्थ गाडी किन्दिछु भन्नु होइन र ? स्कुटर चढ्दै आएका मनोजलाई ‘महाजात्रा’ले गाडी नै किन्दिने भएपछि यो सिनेमाको ब्लकबस्टर कमाइको सबैभन्दा धेरै फाइदा उनैलाई भएन त ?