दीपेन्द्र के खनालको ‘के घर के डेराः घर नम्बर २’मा खगेन्द्र लामिछाने

अभिनेता खगेन्द्र लामिछाने नयाँ फिल्ममा अनुवन्धित भएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा लामिछाने अनुवन्धित भएका हुन् ।

निर्माणपक्षले आज खगेन्द्रको जन्मदिनको अवसर पारेर यस फिल्ममा अनुवन्धित गरेको हो । यो फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ ।

फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएसँगै अब फिल्मको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने निर्माणपक्षले बताएको छ ।

फिल्ममा अनुवन्धित भएसँगै खगेन्द्र उत्साहित रहेको बताएका छन् । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको तर्क गरे ।

सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । फिल्मका बाँकी अन्य कलाकारहरु एकपछि अर्को रुपमा फाइनल गर्दै जाने बताइएको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा चर्चित लेखक बुद्धिसागरको लेखन छ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् ।

फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ ।