karsang
Close Me

पार्श्वगायनमा करण परियारले गरे डेब्यु, ‘बुलाकी’का दुई गीतमा अनु, करण र समीक्षाले भरे स्वर

यही साउन ३२ गतेबाट नेपाली कथानक चलचित्र ‘बुलाकी’ पुन: प्रदर्शनमा आउँदै छ । गत वर्ष एकदिन प्रदर्शन भएर हलबाट बाहिरिएको सिनेमालाई निर्माण टिमले पुन: प्रदर्शनमा ल्याउन लागेको हो ।

यता चलचित्रको निर्माण पक्षले हालै चलचित्रका लागि दुई वटा नयाँ गीत रेकर्ड गराएको छ । सिनेमाको एक मार्मिक गीतमा हालै भएको नेपाल आइडल सिजन ५ विजेता करण परियार र गायिका अनु चौधरीले स्वर भरेका छन् भने अर्को एक गीतमा गायिका समीक्षा अधिकारीले स्वर भरेकी छिन् ।

विजेता गायक परियारले यही चलचित्रको गीतबाट पार्श्वगायनमा डेब्यु गरेका छन्। उनले आइतबार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडिओ पुगेर सिनेमाको गीतमा स्वर दिएका हुन्।

स्टुडियोमा पुगेका करण केहि नर्भस र केहि उत्साहित देखिन्थे । गायिका समीक्षासँग एकसाथ मिडियामा प्रस्तुत हुँदा नेपाली गीत संगीतको इतिहास बोकेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउन पाउँदा उनीहरु भाग्यमानी सुनिए । आफुहरूको स्वरवद्ध गीतले फिल्मको कमर्सियल पाटोलाई समेत सघाउने विश्वास करण र समीक्षाको रहेको छ ।

बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुबै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए ।

देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा यो सिनेमाले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा उत्कृष्टको अवार्ड जितिरहेको छ ।

देश विदेशमा रहनुभएका नेपाली चलचित्रका शुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा सिनेमाप्रति दर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र ‘बुलाकी’लाई पुन: प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको विष्टले बताए ।

सिनेमालाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्ट बताउँछन् ।

स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । सिनेमाको कथा तथा पटकथा राजबहादुर सानेको हो ।

‘बुलाकी’ पश्चिम कर्णालीले भेगको जारी प्रथाको कथावस्तुमा बनेको सिनेमा हो । त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख । कर्णालीका मान्छेले बोल्न र लगाउनका लागि गर्ने दुःखलाई सिनेमाको कथाले समेटेको छ ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् ।

चलचित्रलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।