दुई दिनमा ‘घरज्वाइँ’को डेढ करोड ग्रस कलेक्सन
चलचित्र ‘घरज्वाइँ’ले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । प्रदर्शनको सुरुवाती दिन शुक्रबार बिहानीका शो औसत रहे पनि केही हलमा उच्च अकुपेन्सी देखिएको थियो । दोस्रो दिन शनिबार चलचित्रको व्यापारमा उल्लेख्य वृद्धि देखिन्थ्यो ।
अनिल बुढा मगर निर्देशित डेव्यु सिनेमाले शुक्रबार र शनिबार ‘घरज्वाइँ’ हेरेका दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आइतबारका लागि शोमा वृद्धि समेत गरेका थिए भने मनसुन यामको बाबजुद पनि सिनेमाले बक्सअफिसमा सुखद प्रदर्शन गर्न सफल भएको छ ।
यसैबीच चलचित्रका निर्माताले पहिलो सप्ताहन्तको कलेक्सन सार्वजनिक गरेका छन् । वितरकबाट प्राप्त आँकडाबाट निर्माणपक्षले प्रदर्शनको तेस्रो दिनमा दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् ।
निर्माण कम्पनी जिएम मुभी प्रोडक्सनले एक पोस्टरमार्फत् शुक्रबार र शनिबार १ करोड ५१ लाख ग्रस व्यापार भएको दाबी गरेको छ । यसमा चलचित्र विकास बोर्डले बक्स अफिसको रिपोर्ट सार्वजनिक नगरेकाले ‘घरज्वाइँ’को कलेक्सन पुष्टि हुने आधार देखिँदैन ।
चलचित्रले डेढ करोड ग्रस कलेक्शन गर्दा निर्माताको हातमा ५० देखि ६० लाखसम्म शेयर आउँछ । यसैले यो चलचित्रलाई लगानी मात्र सुरक्षित गर्न पनि अझै केही दिन राम्रै व्यापार गर्न आवश्यक छ ।
मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेकाले यो सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, विना थापामगर, सोनाम लामा, सुनिल मगर लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतिको छायांकन रहेको यो फिल्ममा विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।