अनमोल कर तिर्ने पहिलो कलाकार हुन् ? हो भने स्यालुट ! होइन भने केको प्रचारबाजी ?

नायक अनमोल केसीले चलचित्र ‘फर्की फर्की’बाट ५० लाख रुपैयाँ पारिश्रमिक लिए । यो उनको केही वर्ष यतकै पारिश्रमिकको ‘रेट’ नै हो । यसअघिका चलचित्रमा पनि उनले लिने यति नै हो । तर उनले ५० लाख रुपैयाँ पारिश्रमिक लिन्थे नै भन्ने प्रमाण भने सार्वजनिक भएको थिएन ।

यो पटक अनमोलले आफूले लिएको पारिश्रमिक सार्वजनिक गरे । उनले ‘फर्की फर्की’बाट ५० लाख रुपैयाँ लिएको निर्माता रोहित अधिकारीले प्रमाण सार्वजनिक गरे । अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएवापत ७ लाख ५० हजार रुपैयाँ कर तिरेको प्यानमार्फत प्रमाण सार्वजनिक गरे ।

राज्यले निर्धारण गरेको कर तिर्नु राम्रो हो । तिर्नै पनि पर्छ । नतिरी सुखै छैन । आम्दानी गरेअनुसारको कर तिर्नु नै पर्छ । अनमोलले पनि उनको कमाइ अनुसारको कर तिरेका हुन् । अनमोलले कर तिर्दा मेनस्ट्रिम न्युज पोर्टलका हेडलाइन बने । सिनेमामा काम गरेवापतको पारिश्रमिक लिए । पारिश्रमिकअनुसारको कर तिरे । कुन नौलो कुरा भयो ?

हरेक व्यक्तिले कर तिरिरकै हुन्छ । व्यापारी, उद्योगी, कर्मचारीलगायत सबैले कर तिरिरहकै हुन्छन् । राज्यले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर उक्त आर्थिक वर्षभर सबैभन्दा बढी कर तिर्ने संस्था, उद्योग तथा व्यक्तिसहित विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिलाई पुरस्कृतसमेत गर्दै आएको छ ।

त्यसो भए अनमोलले कर तिर्दा के नौलो भयो ? कुनै त्यस्तो वर्ष छ, जुन वर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्ति वा संस्था सिनेकर्मी वा सिनेमा निर्माण गर्ने कम्पनी छ । होला यो सिनेमा उद्योग नै सानो भएकाले सर्वाधिक कर तिर्ने व्यक्ति र संस्था यसभित्रबाट नहोलान्, स्वभाविक पनि हो ? तर कर तिर्दैमा महान व्यक्ति झैँ को–कोहोलो चाहीँ किन गर्नु ?

होइन, अनमोलले नै पहिलोपटक कर तिरेका हुन् भने बेग्लै कुरा हो । यसैलाई माइलस्टोन मान्न सकिएला । होइन भने राम्रो सुरुआत, उदाहरणीय काम भनेर अनमोलको तारिफ गर्न आवश्यक छैन ।

कि आजसम्म कुनै कलाकारले कर नै तिरेका थिएनन् ? थिए भने कसैले आजसम्म कर नै नतिरे झैँ किन गर्नु ? कर तिर्नेका लागि यो अपमान होइन र ? होइन कलाकारले आजसम्म आफ्नो कमाइ लुकाएर राज्यलाई कर तिरेका थिएनन् भन्ने सन्देश गएन र ?

तर, कलाकारले आजसम्म कर तिरैकै थिएनन्, भने उनीहरू पक्कै पनि राज्यका नजरमा दोषी हुन् । राज्यविरुद्धको ठगी हो । एकाधले आम्दानी लुकाए पनि होलान् । तर सबैले त पक्कै कर नतिरी बसेका छैनन् होला । छन् भने उनीहरू कारबाहीका भागिदार हुन् । कारबाहीका लागि योग्य पात्र हुन् । राज्यको ध्यान यसतर्फ खिचिनु पनि पर्छ ।

तर, कोही एउटा कलाकारले कर तिर्दैमा के–के नै भयो भने झैँ गरेर मिडियाबाजी गर्नु भनेको आफैँ रहेको उद्योगको बदनामी गर्नु हो । यदि, जानीबुझी नै अरु कलाकारलाई पनि नैतिक रूपमा जिम्मेवार बनाउने उद्देश्यले गरिएको हो, त्यो अग्रसरता तारिफयोग्य छ । ती पात्र प्रशंसालायक नै हुन् । होइन भने सस्तो लोकप्रियताबाहेक केही होइन । मिडियाको अकुपाई बाहेक केही होइन ।