karsang
Close Me

‘नम्बरी सुन’ हेर्ने १२ दर्शकलाई सुन र चन्द्रहार उपहार

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेका हुन् ।

उनले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’को टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सात दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने बताए ।

प्रस्तुतकर्ता खाती पेसाले सुन व्यवसायी हुन् । निर्देशक राजु गिरीले चलचित्रले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए ।

चलचित्रमा नम्रता सापकोटा, विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । चलचित्र साउन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।