पहिलोपटक कोरियन भाषामा नेपाली चलचित्र ! ‘गोर्खा वारियर’ कोरियमा रिलिज हुँदै
काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’ कोरियन भाषामा रिलिज हुने भएको छ । ‘गोर्खा वारियर’ कोरियन भाषामा डब भएर कोरियामा रिलिज हुन लागेको हो । कोरियन भाषामा डब भएर रिलिज हुन लागेको यो पहिलो नेपाली चलचित्र भएको निर्माणपक्षको दाबी छ ।
यो चलचित्र नेपालमा गत वर्षको फागुन ११ मा प्रदर्शन भएको थियो । मिलन चाम्सको निर्देशन गरेको चलचित्र वार जनरामा निर्माण भएको छ । कोरिया राइट्स कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले खरिद् गरेको हो ।
निर्देशक चाम्सका अनुसार कोरियाका लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार दिइएको हो । गोर्खा वारियरको कोरियन भाषामै डव गरेपछि पोस्टर पनि सार्वजनिक भएको छ ।
निर्देशक चाम्सका अनुसार सिनेमा हलमा रिलिज हुनेछ । हल रिलिजपछि त्यहाँको टेलिभिजन च्यानलहरूमा पनि रिलिज गरिनेछ । निर्देशक चाम्सले नेपाली सिनेमा पहिलो पटक कोरियन भाषामा डव गरेर तयार गरिएको दाबी गर्छन् ।
यो चलचित्र हिन्दीबाहेक अन्य भाषाको राइट्स एक अमेरिकन कम्पनीले खरिद गरिसकेको छ ।
मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले सन् १९४९ मा लडेको लडाइँको कथा यो चलचित्रको मुख्य कथानक हो । चलचित्रमा रितेश चाम्स, रेवीका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा ‘गोर्खा वारियर’ निर्माण भएको हो ।