‘कार्साङ’को वर्कशपमा जोडिए दयाहाङ, अर्को सातादेखि छायांकन
काठमाडौं । चलचित्र ‘कार्साङ’को टिम यतिबेला कार्यशाला (वर्कशप)मा व्यस्त रहेको छ । केही दिनदेखि काठमाडौंमा कलाकार र निर्देशकसहितको भइरहेको चलचित्रको जारी वर्कसपमाअभिनेता दायाहाङ राई पनि जोडिएका छन् ।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको टिम छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मसका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कसपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।
केही महिनाअघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुहूर्त गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको मुख्य कलाकारमा दयाहाङसँगै सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी छन् । यही चलचित्रबाट नवनायिकाका रूपमा सिर्जना र छिरिङले डेब्यु गर्दैछन् ।
सिर्जनाले केही म्युजिक भिडियोेमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन–२’को विजेता हुन् ।
चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बू, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ ।
चलचित्रलाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् भने उनकै डिओपी रहनेछ । गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।
मनोज थापा मगर, सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने चलचित्रको मुख्य सह–निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह–निर्देशक, अभि लामाको कोरियोग्राफी, प्रोडक्सन म्यानेजरमा दिलीप पन्त छन् ।
चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निमार्णपक्षले बताएको छ । चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।