karsang
Close Me

‘एक्टर’को छायांकन ४५ दिनमा इन्डक्ल्याप, जापान राइट्स बिक्री

काठमाडौं । निर्माणको घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । फरक भूमिकामा प्रदीप खड्का, राजबल्लभ कोइरालाको कमब्याक तथा दिब्या रायमाझीको डेब्यु मुभीलगायत विभिन्न कारणले यो चलचित्र घोषणादेखि नै चर्चामा छ ।

वैशाखको अन्तिम साताबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको चलचित्रको दुई चरण गरी ४५ दिनमा छायांकन पूरा गरिएको हो ।

पोखरामा १० दिन र काठमाडौंमा ३५ दिन छायांकन गरिएको हो । एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । “लामो समय लगाएर छायांकन सकिएको छ । सुटिङ अवधिभर कलाकार र प्राविधिकको राम्रो साथका कारण सोचेजस्तै काम भएको छ । अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौँ,” उनले भने, “तीन महिनामा टिजर, ट्रेलर र फर्स्टलुक सार्वजनिक गर्नेछौँ । यी सामग्रीमै चलचित्र कस्तो बनेको छ भन्ने दर्शकले थाहा पाउनुहुनेछ ।”

उनले अभिनेता प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सकिने बताए ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्रमा प्रदीप र दिव्या रायमाझीसहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय छ ।

दिव्याको यो पहिलो चलचित्र हो । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् ।

प्रदीपले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मसको निर्माण रहेको चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको चलचित्रको क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्र नरेन्द्र मैनालीले खिचेका छन् ।

यो चलचित्र तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुनेछ । चलचित्रको जापान प्रदर्शन अधिकार बिक्री भएको छ । ‘एक्टर’को जापान राइट्स खेमराज शाहको म्याक्स इटरटेनमेन्टले खरिद गरेको छ ।