‘ज्वाइँ साब’का जीतु र नीतिको लुक्स किन लुकाइयो ?
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को सुटिङ ३० दिनमा सकिएको छ । एक महिनासम्म चित्लाङ र चितवनमा छायांकन गरिएको ‘ज्वाइँ साब’को छायांकन सकिएको हो । निर्देशक वसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खितिएको थियो ।
कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा छायांकन सकिएको वसन्तले बताए ।
कलाकार जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुसँगै बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायतका कलाकारको अभिनय छ ।
छायांकन सकेसँगै फिल्मको निर्माण टिम पोष्टप्रोडक्सनको काममा जुटेको छ । जीतु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रुपमा देख्नसक्ने निर्माणपक्षले जनाएको छ ।
निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन । निर्देशक निरौलाले भने , “जीतु र नीति शाहलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले, हामीले सुटिङ सेटबाट कुनै पनि लुक्स सार्वजनिक गरेका छैनौं । दर्शक फर्स्टलुक देखेर सरप्राइज हुनुहुनेछ ।”
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।