११ हजारको क्राउडमा खिचिएको सिनेमा ‘मेयर’को ६० प्रतिशत डविङ

काठमाडौं । चलचित्र ‘मेयर’को यतिबेला धमाधम डविङ भइरहेको छ । पोस्टप्रोडक्सनको काम चलिरहँदा कलाकार डविङमा छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार ६० प्रतिशतभन्दा धेरै डविङ भइसकेको छ ।

“करिब तीन हप्तादेखि डविङ भइरहेको छ । अबको केही दिनमा सिनेमाको डविङ सकिनेछ । त्यसपछि बाँकी काम गर्नेछौँ,” निर्देशक खनालले भने ।

‘मेयर’ रिच प्रोडक्सन डिजाइन भएको चलचित्र हो । पोलिटिकल बेसमा बनेको सिनेमामा ऐतिहासिक क्राउड रहेको निर्माणपक्षले जनाएको छ । अनपेक्षित क्राउडका कारण चलचित्र छायांकनदेखि नै चर्चामा छ ।

“नेपाली सिनेमाले अक्सर मार खाने प्रोडक्सन डिजाइनमा हो । हाम्रा अधिकांश चलचित्रको कमजोर प्रोडक्सन डिजाइन हुन्छ । कमजोर प्रोडकक्सनका कारण नेपाली सिनेमा सिनेक्याटिक फिल नै दिन सक्दैनन् । जसका कारण नेपाली सिनेमा तुलनात्मक रूपमा कमजोर हुन्छन् । त्यसैले विषय बलियो हुँदाहुँदै नेपाली सिनेमा कमजोर हुन्छन्,” दीपेन्द्र भन्छन्, “तर मेयरलाई म अपबाद नै मान्छु । अहिलेसम्म नेपाली चलचित्रमा नदेखिएको क्राउड यो सिनेममा देखिनेछ । हामीले नै अपेक्षा गरेभन्दा सयौं गुणा ठूलो क्राउडमा यो चलचित्र खिच्न पायौँ ।”

पोलिटिकल सिनेमाका लागि ठूलो क्राउड चाहिने र नेपालमा त्यस्तो क्राउड जुटाउन कठिन हुने गरेको स्मरण गर्दै दीपेन्द्र भन्छन्, “न्यून बजेट, डेडिकेसनको अभाव, गाउँमा जनसंख्याको कमी लगायतले क्राउड जम्मा गर्न सहज छैन । तर मेयरमा हामीले राजनीतिक व्यक्तिबाट नै साथ पाएकाले पनि होला । पूरै क्राउडमा काम गर्न पायौं । यो हाम्रा लागि ठूलो अवसर हो ।”

निर्देशक खनालले ‘मेयर’को एउटै सिनका लागि ११ हजारभन्दा धेरै स्थानीयको भीड जम्मा भएको बताए । कुनै पनि ठूला राजनीतिक दलका आमसभाभन्दा ठूलो क्राउडमा सिनेमा खिचिएकाले यो विशेष र भब्य हुने उनको भनाइ छ ।

यो क्राउडले ‘मेयर’लाई विशेष मात्रै नबनाएर नोपली सिनेमालाई नै उचाइ दिने उनको विश्वास छ ।

उनले सर्लाहीको वाग्मती नगरपालिकामा सिनेमाको छायांकन गरेका हुन् ।

‘मेयर’को मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको अभिनय छ ।

यो सिनेमाबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् ।

सिनेमा ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ ।

सिनेमको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता श्रृष्टिमाँ खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन् ।