‘लाज शरणम्’ निर्माण घोषणा, १२ वर्षपछि मुकुन्दको कमव्याक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको छ । ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर शुक्रबार चलचित्र निर्माणको घोषणा गरिएको हो ।

सिनेमाको निर्माण घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्यलगायतको उपस्थिति थियो ।

सिनेमामा जिग्री र पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहनेछन् ।

सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

यो सिनेमाबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् । सिनेमामा सक्किगोनि टिमबाट को–को कलाकार रहने तथा अन्य कलाकारहरु को–को रहने भन्ने सार्वजनिक गरिनेछ ।

फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयारी रहेको निर्माणपक्षले जनाएको छ ।