karsang
Close Me

‘घरज्वाइँ’मा रहेका रोधीका दृश्य हटाउन गुरुङ समुदायको माग

काठमाडौं । गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले चलचित्र ‘घरज्वाइँ’का केही दृश्यप्रति आपत्ति जनाउँदै हटाउन आग्रह गरेको छ ।

चलचित्रमा समेटिएका रोधीका केही दृश्यप्रति ‘तमु धिं नेपाल’ले आपत्ति जनाएको हो । रोधी संस्कृतिको मर्म विपरीत केही दृश्य चलचित्रमा देखाइएको ‘घरज्वाइँ’लाई आरोप लगाइएको छ । उक्त दृश्य तत्काल हटाउन ‘तमु धिं नेपाल’ले मागसमेत गरेको छ ।

“घरज्वाइँमा प्रयोग गरिएको रोधी संस्कृतिसँग सम्बन्धित केही सम्बाद र दृश्यले रोधीको मर्म र कर्म विपरीत भएको देखिएकाले चलचित्रसँग सम्बन्धितलाई ध्यानाकर्षण गर्दछौँ,” तमु धिं नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “यो चलचित्र निर्माणसँग सम्बन्धित पक्षले नकारात्मक वा भ्रमित हुने गरी रोधीसँग सम्बधित प्रस्तुतिलाई तत्काल सम्पादन गर्न अनुरोध छ ।”

उसले रोधीको सट्टा चलचित्र छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव समेत दिएको छ । रोधी गुरुङ समुदायको संस्कृति भएको भन्दै त्यसलाई गलतरूपमा चित्रित नगर्न ‘तमु धिं नेपाल’ले आग्रह गरेको छ ।

अनिल बुढा मगरले निर्देशन गरेको चलचित्र ‘घरज्वाइँ’ गत शुक्रबारबाट प्रदर्शनरत छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगरलगायत कलाकारको अभिनय छ ।