karsang
Close Me

युट्युबमा सबभन्दा धेरै हेरिने ‘भुन्टी’ टिभीमा पनि आउन थाल्यो

यसअघि युट्युबमा मात्र प्रसारणमा आउने र सर्वाधिक धेरै भ्युज पाउने नेपाली सिरियल ‘भुन्टी’ टेलिभिजनमा पनि प्रसारणमा आउन थालेको छ । यो सिरियल गत मंगलबारदेखि कान्तिपुर टिभी एचडीमा प्रसारण हुन थालेको हो ।

अबदेखि मंगलबार राती ९ बजेदेखि टेलिभिजनमा र ९ः १० बजे युट्युबमा स्ट्रिमिङ हुने यसकी निर्माता, निर्देशक एवं कलाकार आशा गौतमले बताइन् ।

यसअघि भने सिरियल मंगलबार ८ बजे युट्युबमा प्रसारण हुने गरेको थियो । आशाका अनुसार विकट गाउँका दर्शकलाई लक्षित गरेर टिभीमा पनि प्रसारणमा ल्याउन थालिएको हो । युट्युबमा भने ‘सुकुमाया टिभी’ मा प्रसारणमा आउने गरेको छ ।

सेन्टिमेन्टल सिरियल पारिवारिक कथामा निर्माण हुँदै आएको छ ।

यसको शीर्ष भूमिकामा आशा स्वयं छिन् । साथमा शारदा गिरी, सुशील पोखरेल, सागर गौतम, विजय देउजा, हिउँवाला गौतम, सुवास गजुरेल, विनोद श्रेष्ठ, इन्द्रजित चौलागाईँलगायत कलाकारको अभिनय छ। यसको २२३ भाग प्रसारणमा आइसकेको छ ।

यो अहिलेको समयमा युट्युबमा सबभन्दा धेरै भ्युज पाउने सिरियल हो । यसका पछिल्लो समयका हरेक एपिसोडलाई ६० लाखभन्दा बढी हेरिएको छ ।