karsang
Close Me

रिमेश अधिकारीको ‘नालापानी’ रि-रिलिज गरिने, नयाँ ट्रेलर सार्वजनिक

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर बनेको चलचित्र ‘नालापानी’ रि-रिलिज हुने भएको छ ।

रिमेश अधिकारीको लेखन, निर्माण तथा निर्देशन रहेको यो चलचित्र वितरकको सल्लाह बमोजिम साउन २५ मा रि-रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

गत वर्षको कात्तिक ४ गते देशव्यापी प्रदर्शनमा आएको चलचित्रको रिलिज मिति घोषणासँगै निर्माण टिमले नयाँ ट्रेलर समेत सार्वजनिक गरेको छ ।

चलचित्रले नेपालीको वीरताको गाथा र इतिहास बोकेकाले विशेषत विद्यालयका विद्यार्थीले यसमा चासो देखाएकाले रिलिजको तयारी गरिएको निर्देशक अधिकारीले बताए ।

फिल्म रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस्, गंगानारायण फिल्मस् र बिजिबी इन्टरटेन्टमेन्टको ब्यानरका निर्माण भएको चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अचुत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीता बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल र सुवर्ण थापालगायतको अभिनय छ ।

गणेश कार्की निर्माता, घनेन्द्र थपलिया कार्यकारी निर्माता, सपन थापा एसोसिएट निर्माता र मनोज शाक्य निर्माता रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, अचुत गजुरेलका भीएफएक्स, विपिन मल्लको सम्पादन, रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन छ ।