शिवजी, गीतको इज्जत नै लुट्न त भएन नी !
शिव परियार आफैँमा सांगीतिक क्षेत्रका लागि गर्विलो नाम हो । उनका लागि यो वाक्य खर्चिँदा अन्यथा मान्नु पर्दैन । उनको गायकीले यति डिमान्ड गर्छ नै । यसो भन्दा उनको लागि यो चाकडी पनि हुँदैन । उनलाई यतिभन्दा हौसला र प्रेरणा मिल्छ भने त्यो उनको व्यक्तिगत कुरा हो । कति पुलकित हुने र आत्मसमीक्षा गर्ने व्यक्तिमा निर्भर हुने कुरा हो ।
तर, कहिलेकाहीँ अरुले गर्विलो मानेको र त्यसका लागि कुशल कौशल प्रस्तुत गरेर आफूलाई प्रमाणित गरेको व्यक्तिले भने लय भने गुमाउनु हुँदैन । प्रष्टै भन्दा बाटो बिराउनु हुँदैन । सम्हालिएर हिँड्नुपर्छ ।
शिव आफैँमा आदर्शका कुरा गर्ने पात्र हुन् । उनलाई बचाएको पनि र भीडमा फरक देखाएको पनि उनको आदर्शले नै हो । उनी हम्मेसी अरुका गीत गाउँदैनन् । बरु ढिलै किन नहोस् पर्खिन्छन्, पैसा धेरै खर्च नै किन नलागोस् गर्छन् । तर गीतमा कम्प्रमाइज गर्दैनन् । यो अरुले होइन उनी आफैँले भनेका हुन् । नपत्याए युट्यबुतिर हेरे उनका उनका अन्तर्ताताहरू सर्च गरेर । अनलाइन पोर्टल लगइन गरेर पढे हुन्छ ।
यसैले हो शिवको व्यक्तित्व उचालेको । समकालीनहरूले बाटो बिराउँदा पनि उनी बचेको । आफ्नो बाटोमा अबिराम अडिग रहेको ।
तर, समय सधैँ एकै रहँदैन । आर्दशका कुरा गर्नेहरू सधैँ त्यसमा अडिग रहन सक्दैनन् । गायकी र क्षमता उचो नै किन नहोस् कहिलेकाहीँ सतहमै पुग्छन् । र आफ्नो आदर्शदलाई पैतालाले किच्छन् ।
अझै प्रष्टै भनौं एउटा नेपाली उखानलाई सापटी लिएर ? ‘… लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ ।’ आखिर यो चरितार्थ भएरै छाड्यो, त्यो पनि शिव परियारको सन्दर्भमा । क्लासिकल हाइ रेन्जको भोकलमा निर्विकल्प जस्तै रहेका शिव उही भीडमा मिसिन पुगे । गीतलाई दुर्गन्धित बनाउन लाम लागे ।
केही दिन अगाडि मात्र उनले गाएको ‘धोकेबाज’ बोलको गीतमार्फत् उनले अहिलेसम्म बचाएर राखेको आफ्नो आदर्शलाई तिलान्जली दिए । सस्तो लोकप्रियताको पछि लागेका छन् ।
स्वरमा त कम्प्लेन गर्ने ठाउँ छैन । तर उनले जस्तो शब्दलाई स्वीकार गरेर गाए । त्यसले उनले आजसम्म बचाएर राखेको छविलाई गर्ल्यामगुर्लुम्म ढालिदिएको छ ।
त्यसमा पनि गीतमा जस्तो भिडियो बनेको छ, त्यसले गीतको इज्जत नै लुटेको छ । गीतसंगीतलाई पूजा गर्ने शिवको यो रोजाइले उनको छविलाई एकै पटकमा स्वत्तर बनाइदिएको छ ।
शिवको गीतका निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले जसरी कलाकारलाई नचाएका त्यसले म्युजिक भिडियोको इज्जत लुटेको छ । आफ्नो स्वर रहेको गीतको भिडियो ‘सी ग्रेड’को बन्दा कसरी ओके भने शिवले ?
जसले संगीतलाई पूजा गर्छ उसैले त्यही संगीतको इज्जत लुट्न कसरी सकेको भनेर शिवलाई प्रश्न गर्ने हो भने उनले के भन्लान् ?
हुन त उनले मेरो काम गाउने हो, अरुको गीतमा आकर्षक पारिश्रमिक लिँए गाइदिएँ, भिडियोको जिम्मा मेरो होइन भन्लान् ।
तर, यसो भन्दैमा तपाईं उम्किन पाउनुहुन्छ शिवजी ? वाकपटु हुनुहुन्छ, जवाफ त कुटनीतिक पाराले अनेक दिन सक्नु होला । तर आत्मैदेखि आफैँले आफैँलाई चाहीँ के जवाफ दिनुहुन्छ ? विगतका आफ्नै अन्तर्वार्ता हेरेर कस्तो लाग्छ, आफैँले आफैँलाई त पक्कै ढाँट्न नसकिएला ?