karsang
Close Me

‘कस्तो राजनीति गरेर नेताले विश्वमा नेपाललाई चिनाइरहेका छन्, हामीलाई थाहा छैन ?

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सरकारले नेपाली चलचित्रको एचिभमेन्ट (उपलब्धी)लाई बुझ्न नसकेको आरोप लगाएका छन् । निर्देशक मीन भामको चलचित्र विश्वकै प्रतिष्टितमध्येको एक बर्लिन फिल्म फेस्टिभलमा छनोट हुँदा सरकारले वास्तै नगरेको उनको भनाइ छ ।

दक्षिण एसियाकै प्रतिनिधित्व गर्दै तीन दशकपछि नेपालबाट चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा पुग्दा पनि सरकारले यो एचिभमेन्टलाई बुझ्न नसकेको उनको गुनासो छ ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

“नेपाली निर्देशकको फिल्मले यत्रो एचिभमेन्ट गरेको छ । नेपाली चलचित्र क्षेत्रले मात्रै होइन पूरै देशले, सरकारले नै एचिभमेन्टका रुपमा लिएर सेलिब्रेट गर्नुपर्नेमा वास्तै गरेन,” साम्बालाको रिलिज डेट अनाउन्समेन्ट कार्यक्रममा शुक्रबार बोल्दै उनले भने, “बरु यो सिनेमासँग सानो सानो काममा जोडिएका देशले हामीले काम गरेको सिनेमा बर्लिन फिल्म फेस्टिभलमा पुग्यो भनेर सेलिब्रेट गरिरहेका छन् । तर हाम्रो सरकारलाई वास्तै छैन ।”

सरकारले सिनेमालाई वास्तै नगरेको उनको भनाइ छ । देशको कला, संस्कृति जगेर्ना गर्दै नेपाललाई विश्वमा चिनाउने माध्यम सिनेमालाई सरकारले वास्तै नगरेको उनले बताए ।

“नेपालाई राजनीतिले मात्रै विश्वमा चिनाउने हो ? राजनीतिबाटै चिनाइरहेका छौँ भन्ने लागेको होला हैन ?,” आक्रोशित हुँदै निश्चलले भने, “हामीले पनि देखिरहेका छौँ, कस्तो राजनीति गरेर नेपाललाई चिनाइरहनु भएको छ ।”

विश्वको सिनेमा जगत र सिनेमा बुझ्ने देशले स्वीकार गरेको ‘साम्बाला’को निर्देशकलाई नेपालको सरकारले भने नचिनेको उनको टिप्पणी छ । “विश्वले साम्बाला सिनेमाको मेकर भनेर चिनिरहेको छ । तर यही देशमा लखरलखर हिँड्दा पनि यहाँको सरकारले चिन्दैन, यो कस्तो व्यवाहार हो सरकारको ?” निश्चलले प्रश्न गरे ।

दक्षिण एसियाकै सिनेमा जगतको प्रतिनिधित्व नेपाली सिनेमाले गर्नु सानो उपलब्धी नरहेको तर यसलाई राज्यले नबुझेको उनको आरोप छ । विश्वलाई नेपाल चिनाउने सिनेमालाई समेत राज्यले चिन्न नसकेको उनको गुनासो छ ।

“वर्ल्ड सिनेमासँग कम्पिटिसन गर्ने सिनेमा बनाउने निर्देशक नेपालमा छन् । विश्वलाई चिनाउने सिनेमा बनाउने मेकरलाई नालायक ठान्छ, यो कस्तो सरकार हो,” उनले भने ।

यसैबीच, निर्देशक मिनका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुने भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर निर्माणपक्षले नेपालमा चलचित्रको रिलिज डेट घोषणा गरेको हो ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले भन्नेछ । चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।