karsang
Close Me

अहिलेसम्मकै महंगो चलचित्र ‘साम्बाला’ युट्युबमा रिलिज नहुने

काठमाडौं । हालसम्मकै महंगो भनिएको नेपाली चलचित्र ‘साम्बाला’ युट्युबमा रिलिज नहुने भएको छ । मीन भामले निर्देशन गरेको चलचित्रको हल रिलिज भने यही भदौ २८ गते हुँदैछ ।

हल रिलिजको मिति सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा निर्देशक मीनले चलचित्र निर्माण खर्च १४ करोड २१ लाख २० हजार रुपैयाँ भएको बताएका थिए । तर सिनेमा रिलिजसम्म १५ करोड पुग्ने उनको भनाइ थियो ।

अझै पनि सिनेमालाई राम्रो बनाउने काम भइरहेकाले बजेट थपिने र भदौ २८ सम्म पुग्दा १५ करोड रुपैयाँ पुग्ने उनको दाबी छ ।

डोल्पाको उपल्लो भूभागमा खिचिएको चलचित्रमा रिसर्चसँगै पोष्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको थियो ।
निर्देशक मीनले आफ्नो चलचित्र ‘साम्बाला’ आफू बाचुन्जले युट्युबमा रिलिज नगर्ने घोषणा पनि सोही कार्यक्रममा गरे ।

आफूले ‘कालोपोथी’ पनि युट्युबमा रिलिज नगरेको र ‘साम्बाला’ पनि युट्युबमा अपलोड नगर्ने उनले घोषणा गरे ।

चलचित्र हलमा हेर्नेगरी निर्माण गरिएको हुने भन्दै मोबाइलमा हेर्दा त्यसलाई न्याय नहुने उनको जिकिर छ ।

“मैले सिनेमा युट्युबका लागि भनेर बनाएको होइन । कुनै पनि सिनेमा युट्युबका लागि बनाएको हुँदैन । त्यसैले यो चलचित्र सिनेमा राख्दिनँ,” मीनले भने, “साम्बाला पनि आउँदैन । ओटीटीमा त सानो स्क्रिन मोबाइल वा ल्यापटपमा हेरिन्छ होला तर युट्युमा आजीवन म मेरा कुनै चलचित्र रिलिज गर्दिनँ ।”

युट्युबबाट केही पैसा आउने भए पनि आफूले त्यसमा चलचित्र नबनाएको उनले स्पष्ट पारे । कतिपय चलचित्र युट्युबमा रिलिज हुने गरे पनि मेकरको आआफ्नै च्वाइस हुने उनी बताउँछन् ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले भन्नेछ । चलचित्रको कथा मीन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।