‘घरज्वाइँ’ नचलाउन पोखराका हल सञ्चालकलाई ‘तमु धिं नेपाल’को चेतावनी

काठमाडौं । गुरुङ समुदायको साझा संस्था ‘तमु धिं नेपाल’ले सिनेमा ‘घरज्वाइँ’ नचलाउन चेतावनी दिएको छ । ‘तमु धिं नेपाल’ल अनिश्चिकालका लागि नचलाउन चेतावनी दिएको हो ।
पोखरास्थित मिड टाउन सुभिजलाई पत्र लेख्दै ‘तमु धिं नेपाल’ले अनिश्चित कालका लागि हल बन्द गरिदिन आग्रह गर्दै यस्तो चेतावनी दिएको हो । आग्रहलाई बेवास्था गर्दै सिनेमा चलाउँदा हुनसक्ने क्षतिको जिम्मेवार हल सञ्चालक स्वयं हुनुपर्ने ‘तमु धिं नेपाल’ले चेतावनी दिएको छ ।
आग्रह नमानी चलचित्र चलाइ त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवार हल सञ्चालक स्वयं हुनुपर्ने पनि उसले चेतावनी दिएको छ ।
चलचित्र ‘घरज्वाइँ’ले गुरुङ समुदायको रोधी÷रोदी संस्कृतिमाथि दृश्यांकन गरेको दृश्य रोधी÷रोदी विधि र विधान विपरीत भएको तमु गुरुङ समुदायको निष्कर्ष रहेको ‘तमु धिं नेपाल’ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ चलचित्रमा उल्लेखित रोधी÷रोदी शव्द संसोधन गरी सम्बन्धित भुगोलकै शब्द नराखेसम्म गण्डकी क्षेत्रमा कुनै पनि चलचित्र प्रदर्शन हुन नदिने निर्णय गरिएको जानकारी गराउँदछौँ ।’
विज्ञप्तिमा उल्लेख छ, ‘गुरुङ समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणको लागि अनिश्चित कालसम्मको लागि तपाईँले चलचित्र प्रदर्शन नगरी हाम्रो अभियानमा साथ दिनुहुन अनुरोध गर्दछौँ ।’
उक्त दृश्य संशोधनका लागि चलचित्र निर्माणपक्षलाई बारम्बार आग्रह गरेको र चलचित्र जाँच पास समितिलाई समेत पत्राचार गर्दा पनि माग सुनुवाइ नभएको ‘तमु धिं नेपाल’ले गुनासो गरेको छ ।
अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्र तेस्रो हप्तामा प्रदर्शनरत छन् । यो सिनेमाले दुई हप्तामा ४ करोड ६३ लाख कलेक्सन गरेको जनाएको छ ।
सिनेमामा मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ लगायत कलाकार छन् ।