कलाकारको अनुहार होइन दर्शक राम्रो सिनेमा हेर्न हल जान्छन् भन्ने भुल्नु हुन्न है !

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा छ । चलचित्र निर्माणको समय जति नजिकिँदै छ, त्यति नै निर्माणपक्षले पोस्टर पनि सार्वजनिक गर्दै आएको छ ।

कलाकारहरूको ग्याङ नै छ, यो चलचित्रमा । नेपाल र दक्षिण भारतका थुप्रै कलाकारलाई लिएर सिनेमा बनिरहेको छ । थुप्रै कलाकार रहेकाले निर्माण टिमलाई एउटै पोस्टरमा अटाउन कठिन छ । त्यसैले किस्ता किस्तामा पोस्टर आइरहेको छ । क्यारेक्टर लुक्स आइरहेको छ ।

त्यसो त एउटै पोस्टरमा यो सिनेमाका कलाकार राख्ने हो भने पासपोर्ट साइजका तस्बिर राख्नुपर्ला हैन र ?

आइतबार निर्माणपक्षले सार्वजसनिक गरेको ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा अभिनेता हरिहर अधिकारी छन् । उनलाई ‘एंग्री लुक्स’मा पोस्टरमा प्रस्तुत गरिएको छ । पृष्ठभूमीका अन्य कलाकार छन् ।

निर्माणपक्षले यो चलचित्रमा कलाकारलाई खेलाउन भब्य मेहनत गरेको छ । पोस्टरमा पनि त्यस्तै मेहनत गरेको दखिन्छ । हरिहरजी पोस्टर र कलाकार भेला गर्न होइन सिनेमाको कथा र अभिनयमा मेहनत गर्नुपर्छ भन्ने चाहिँ भुल्नु हुन्न है !

दर्शक अहिले कलाकारको अनुहार होइन कथा र अभिनय हेर्न हलमा जान्छन् । कलाकारको अनुहार त सामाजिक सञ्जालमा नै दिनकै हेरिरहेका हुन्छन् । त्यसैले मेहनत कथामा गर्नुपर्छ भन्ने भुल्नु त भएको छैन नि हैन निर्देशकज्यू ? अहिले कलाकारको अनुहार त दर्शकले सामाजिक सञ्जालमै देख्छन्, हलमा चाहिँ राम्रो सिनेमा हेर्न जाने हो भन्ने निर्माणपक्षले पक्कै भुलेको छैन होला ।

‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । उनको डेव्यु निर्देशनमा बनिरहेको चलचित्रमा हरिहरसँगै नीता ढुंगाना, कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, ब्रह्मानन्दम, अली, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका छन् ।

नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुने बताइएको छ । विजय वस्यालले पोस्टर डिजाइन गरेको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।