चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त माग गरेको हो ।

यही साउन ९ गते निवर्तमान अध्यक्ष भुवन केसीको दुई वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त छ । सोही पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण वा तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।