चोरी त गर्नु तर यतिसम्म त नगर्नु नि !

काठमाडौं । गीतसंगीत होस् अथवा साहित्यका अन्य विधा, मन पराउन पाइन्छ । अरुले मन पराउन् भनेर नै सर्जक तथा कलाकारले मेहनत गर्ने हो । बजारमा पठाउने हो ।

राम्रो सिर्जना छ भने अवश्य चित्त बुझ्छ, मन पराउन पाइन्छ । त्यसबाट प्रभावित हुन पनि पाइन्छ । सिर्जना मन पराउने व्यक्ति स्वयं सर्जक तथा कलाकार पर्यो भने प्रभावित हुन पनि पाइन्छ । उसले आफ्नो कामका लागि नयाँ आइडिया जेनेरेट पनि गर्न पाउँछ ।

यो त काम गर्ने व्यक्तिगत प्रोसेस हो, कसले कसरी काम गरेको दोस्रो व्यक्तिलाई थाहा पनि हुँदैन । तर कसैको सिर्जना मन पर्यो भने हुबहु कपी भने गर्न पाइँदैन । कपी नै गर्ने हो भने सर्जकसँग अनुमति लिनुपर्छ । कपीराइट्स खरिद् गर्नुपर्छ ।

कुरा गरौँ गीतको स्टेपको, कोरियोग्राफीको । सबैले देखे तथा सुनेकै गीत हो, ‘बुझिन मैले, बुझाइदियौ कसैले…।’ चलचित्र ‘बोक्सीको घर’को यो गीत धेरैले मन पराए । चलचित्रको गीत लामो समयपछि हिट भएको पनि यही नै हो ।

यो गीत कसरी चल्यो थाहा छैन, तर अनुमान लगाउने हो भने शब्द र यसको डान्सस्टेप अथवा कोरियोग्राफी नै होला । शब्द जति सरल छ, त्यति नै चलनचल्तिभन्दा फरक छ यसको डान्स ।

डान्स गर्ने कलाकार इनरजेटिक छन् । फरक स्टेपमा उनीहरूमा देखिएको इनर्जी दर्शकले मन पराएको अनुमान लगाउन सकिन्छ । केकी अधिकारीको अदाह र इनर्जीले डान्स फरक देखिएको थियो । आइरहेका गीतमा भन्दा फरक कोरियोग्राफी थियो । जसलाई दर्शकले मन पराए ।

सायद यो गीतको लोकप्रियतादेखि लोभिएर हो अथवा केही भिन्न आइडिया मन पराएर हो, केही दिन अगाडि रिलिज भएको एउटा गीतमा केही स्टेप हुबहु नक्कल गरिएका छन् । गीत हो, ‘काली पसम की…’ ।

केकी अधिकारीले ‘बुझिन मैले’मा गरेको स्टेप र इनर्जी यो गीतमा जस्ताको तस्तै नक्कल गरिएको छ । सबै स्टेप होइन तर केही भने नक्कल गरिएको छ ।

कोरियोग्राफरले डान्स स्टेप त नक्कल गरे नै ‘बुझिन मैले…’मा प्रयोग गरिएका प्रप्स पनि आर्ट डिरेक्टरले हुबहु नक्कल गरेका छन् । जुन एक झलकमै प्रष्टै देख्न सकिन्छ । पहिरन पनि उस्तै देखिन्छ ।

प्रभावित हुनुसम्म त ठिकै हो तर अर्काको सिर्जनाको कपी गरेर दर्शक झुक्याउनु चाहिँ बुद्धिमानी होइन । सके आफैँ फरक सिर्जना गर्नु राम्रो, नसके आफ्नो दिमाग जति चल्छ त्यति गर्नु राम्रो । तर अर्काको सिर्जना चोरेर सर्जकको पगरी गुथ्ने रहर नगरेकै राम्रो ।

‘काली पसम की’

‘बुझिन मैले, बुझाइदियौ कसैले’

सम्बन्धित समाचार…