‘रावायण’काे टिजरमा एक्सनलाई प्राथमिकता, पूजा भन्छिन्- अब रोएर फिल्म चलाइन्न

अभिनेत्री पूजा शर्मालाई रोएर फिल्म चलाउने नायिकाको आरोप लाग्ने गरेको छ । उनलाई आरोप नलागोस् पनि किन, उनले अभिनय गरेका पछिल्ला केही फिल्मलाई हेर्ने हो भने यो आरोप सही साबित भइसकेको छ ।

तर अब पूजा भने यो आरोपबाट मुक्त हुन चाहेको देखिएको छ । उनी निर्माता र नायिका रहेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक कार्यक्रममा शुक्रबार सञ्चारकर्मी र पत्रकार माझ रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन् ।  ‘अब रोएर फिल्म चलाइन्न । पल छ मसँग । सुदर्शन थापा र हाम्रो टिम आइसकेको छ । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ’, उनले भनिन् ।

आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्मको टिजरमा फिल्मका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ ।

फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।

प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का निर्देशक हुन् । उनले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ फिल्मको टिजरमा देखिएको बताए । ‘अहिले टिजरमा मात्र देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ’, उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतिपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’

नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहनु भएका दर्शकका लागि ‘रावायण’को चरित्र नयाँ स्वाद हुने बताए । उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाए ।