पारि ‘कल्कि’ वारि ‘कल्ली’, नाममा दर्शक झुक्याउने दाउ त होइन ?
काठमाडौं । धेरैलाई थाहै छ, केही समय अगाडि मै बलिउडमा बिग बजेटको चलचित्र ‘कल्कि’ रिलिज भयो । हजार करोड अथवा १० अर्बभन्दा माथि भारतीय रुपैयाँ हलबाटै उठायो । ओटीटी र फरेन राइट्स यो भन्दा बाहिरको रकम हो । ओटीटी र फरेन राइट्सबाटै यसले ६ सय करोड लगानी उठाइसकेको भारतीय सञ्चारमाध्यमले समाचार छापेका थिए ।
भारतीय बजारमा यो भब्य बजेटेको चलचित्र चलिरहँदा नेपालमा पनि एउटा चलचित्र निर्माणको घोषणा गरियो । फर्स्टलुक पोस्टरसहित घोषणा गरिएको चलचित्रको नाम हो, ‘कल्ली’ । सीमा पारी ‘कल्कि’ सीमा वारी ‘कल्ली’ झट्ट सुन्दा नाम उस्तै उस्तै लाग्ने । राइमिङ मिलेकाले उस्तै–उस्तै सुनिएको ।
जुन यतिबेला हलमा ‘कल्कि’ प्रदर्शन भइरहेको भने यता घोषणा भएसँगै केही दिनदेखि सञ्चार माध्यम र सोसल मिडियामा ‘कल्ली’ चर्चा भइरहेको छ । तर, अर्थ खोज्ने हो भने आकास र जमिनको फरक छ । ‘कल्कि’को अर्थ– पुराणअनुसार विष्णुको दसौँ अवतार ।
‘कल्ली’को अर्थ– स्त्रीले गोडामा लगाउने सुन वा चाँदीको गोलाकार बुट्टे वा सादा गहना ।
नाम उस्तै–उस्तै सुनिए पनि अर्थ फरक छ । भिन्न अर्थ दिने शब्द भएपछि सिनेमा पनि फरक नै हुने भयो । होस् पनि । हुनु पर्छ पनि ।
निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुने चलचित्रको कथा लक्ष्मण सुनारको हो । निर्देशन पनि लक्ष्मणले नै गर्दैछन् । सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद छ ।
चलचित्र राम्रो बनोस शुभकामना । समीक्षा र टिप्पणी राम्रो आओस्, वर्ड अफ माउथ पनि राम्रो होस् कामना । तर चलचित्रमा निर्माण पक्षले साँच्चै ‘कल्कि’ जस्तै जस्तै सुनिने नाम राखेर दर्शक तान्ने र हलमा दर्शकको भीड जम्मा गर्ने सोचेको हो भने चाहिँ यो दाउ लाग्दैन ।
किन भने दर्शक मेकरभन्दा शिक्षित र पठित भइसके । देशविदेशका सिनेमा मेकरले भन्दा दर्शकले धेरै हेर्न थालिसके त्यसैले दर्शकलाई गुमराहमा राख्छु भन्ने ‘कल्ली’को निर्माणपक्षले सोचेको हो भने यो दुस्साहास नगरे हुन्छ । आफ्नै मुखमा हिलो छ्याप्ने मुर्खता नगरेकै राम्रो हुन्छ ।
आशा छ, निर्माणपक्षले यो आफैँ पर्ने खाल्डो खन्ने छैन । निर्माणपक्षले ‘कल्कि’को घोषणा अगाडि नै यो चलचित्रको कथा लेखिसकेको थियो भन्ने सुन्न पाएइयोस्, यो हाम्रो अपेक्षा छ । राम्रो सिनेमा बन्ने सुवेक्षा छ ।
सिनेमाको मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फर्ष्ट लुकमा पल र बेनिशा नै छन् ।
निर्माण घोषणा हुँदै सार्वजनिक तीन पोस्टरमा पल र बेनिशा क्यारेक्टर लुक्समा छन् ।
पल र बेनिशाले पहिलो पटक एकसाथ काम गर्न लागेको यो चलचित्र चैतको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । तिहारपछि चलचित्र छायांकनमा जानेछ ।