karsang
Close Me

‘देवी’को टिजर सार्वजनिक, निर्मला पन्तको कथा भन्ने हो चलचित्रले ?

काठमाडौं । चलचित्र ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट ३० सेकेन्ड लामो टिजरले समाजमा घट्ने बलात्कारजस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा देखाइएको छ ।

सार्वजनिक टिजरमा समावेश संवादअनुसार सिनेमा केही वर्षअघि सुदूरपश्चिममा घटेको १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ ।

भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको टिजरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।

सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।