मरेपछि होइन व्यक्ति जिउँदो छँदै सम्मान गर्ने संस्कार बसाऊ सरकार

शास्त्रीय संगीतका साधक, गुरु तथा गायक गुरुदेव कामतको गत बिहीबार बिहान निधन भयो । कामतको आफ्नै निवास सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार बिहान निधन भयो ।

काठमाडौंमा बस्दै आएका कनमत केही समयदेखि आफ्नै घरमा थिए । लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट उनी पीडित थिए । नियमित डायलसिस गराउँदै आएका थिए ।

काठमाडौंको बसाई र नियमित उपचार खर्च धान्न कठिन भएपनि उनी काठमाडौं छोडेर आफ्नै घर गएका थिए । असार २८ मा उनले फेसबुकमा काठमाडौं छोड्नुको कारण लेखेका थिए ।

“नमस्ते प्रियजनहरू भोलि गाउँ जाँदैछु, काठमाडौंमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलसिस गराउँछु । यहाँ अब सारीरिक, मानसिक र आर्थिक अवस्था एकदमै कमजोर भएर भोलि जाँदैछु,” उनले फेसबुकमा लेखेका थिए, “अब किड्नी प्रत्यारोपणका बेला आउँछु । आज ४ बजे भेट्ने समय छ । जो–जो साथी मेरा शिष्यहरू भेट्न चाहनुहुन्छ ४ बजे भेटौँ, गुरुकुल संगीत पाठशाला ।”

उनी यसो भनेर काठमाडौंबाट सिराहातर्फ लागेका थिए । त्यो दिन को–कोसँग उनको भेट भयो, तर त्यसपछि उनको भेट कसैसँग भएन, उनी काठमाडौं फर्किनँ पाएनन् । काठमाडौं आएर मिर्गौला प्रत्यारोपण गरेर बाँच्ने रहर अधुरै रह्यो ।

शास्त्रीय संगीतका साधक कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शुक्रबार शोक वक्तव्य जारी गर्दै स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका थिए ।

कामतले शिक्षा, चेतना र संस्कारको उन्नयनमा संगीत विधालाई आजीवन अघि बढाएको ठहर गर्दै मधेस प्रदेश सरकारले शोक र श्रद्धाञ्जलीमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको वक्तव्य जारी गरेको थियो ।

मधेस प्रदेशको यो निर्णय सह्रानीय रहेकोमा सम्भवत कसैको दुईमत नहोला । कम्तीमा संगीतको साधकको सम्मान गर्यो । उनको योगदानको कदर गर्यो । उनको योगदानको मूल्यांकन भयो ।

हो, गुरुदेव कामतको नपाली संगीतमा ०४० को दशकयता हेर्ने हो भने ठूलो योगदान छ । त्यसयता जति पनि आधुनिक संगीतको विधामा साधना गरेर आएका गायकगायिका छन्, ती मध्ये अधिकांश उनीसँग शास्त्रीय संगीत सिकेर आएका छन् । अहिले आधुनिक संगीतको विधामा सक्रिय रहेका करिब ९० प्रतिशतभन्दा धेरै गायकगायिकाले छोटै समय किन नहोस्, उनीसँग संगीत सिकेका छन् ।

त्यसैले अहिले आधुनिक गायनमा सक्रिय रहेकामध्ये धेरै उनकै शिष्य हुन् । त्यसैले गुरुदेव कामतको योगदान उच्च छ । यही कारण सरकारले उनको यही योगदानको कदर गरेको हो ।

योगदानको कदर हुर्नु राज्यको दायित्व हो । गर्नु पनि पर्छ । तर, योगदानको कदर कतिबेला गर्ने त्यसमा भने केही परिवर्तन आवश्यक छ । मान्छेले देहत्याग गरिसकेपछिको योगदानको कदरले उसलाई सकारात्मक असर गर्छ अथवा जिन्दगी छँदै गरेको योगदानले भन्नेमा राज्यले ध्यान दिनुपर्छ ।

गुरुदेव कामत कै सवालमा भन्ने हो भने उनले काठमाडौंमा आर्थिक अवस्थाले बन्न नसक्ने अवस्था आयो भनेर फेसबुकमै लेखेका थिए । यसको अर्थ उनलाई आर्थिक सहायताको आवश्यकता थियो । उनलाई काठमाडौं नै बसेर डायलसिस गर्ने व्यवस्था राज्यले मिलाइदिएको भए के हुन्थ्यो ? काठमाडौंमै राखेर राज्यले नै मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाइदिएको भए उनी बाँच्थे कि ?

गुरुदेव कामत मात्र होइन, यस्ता थुप्रै व्यक्ति छन्, जसलाई राज्यले कू–समयमा सम्झिएको छ । कू–समयमा उसको योगदानको कदर गरेको छ । समय घर्किसकेपछि सम्मान गरेको छ ।

मान्छेको ज्यान गइसकेपछि सम्मान गर्नुको सट्टा ऊ जिवितै छँदा उसको योगदानको कदर गर्ने संस्कारको विकास गर्नुपर्छ । यसले योगदान गर्ने व्यक्तिलाई थप हौसला मिल्छ । राज्यप्रति थप उत्तरदायी बनाउँछ । कतिपय सवालमा त उसको ज्यान पनि बच्छ । गुरुदेव कामतकै सवालमा पनि राज्यले समयमै सम्झिएको भए, उसको ज्यान जोगिन सक्थ्यो ।

जिवित छँदै गरेको सम्मानले राज्यजति नागरिकप्रति उत्तरदायी हुन्छ, त्यति नै नागरिक र योगदानकर्ता पनि सरकारप्रति जिम्मेवार हुन्छन् । त्यसैले व्यक्ति छउन्जेल नदेख्ने/नहेर्ने तर मरेपछि उसको योगदानको कदर गर्ने संस्कारले समाजलाई उति धेरै फाइदा गर्दैन ।

त्यसैले व्यक्ति मरेपछि गोही आँसु चुहाउनुभन्दा ऊ जिउँदो छँदै उसलाई कदर गरे त्यसले व्यक्ति र राज्य दुवैलाई फाइदा हुन्छ । कुनै न कुनै रूपमा राज्य र व्यक्ति दुवैलाई परोक्ष/अपोरक्ष रूपमा फाइदा पुर्याउँछ ।