‘बुलाकी’को नयाँ ट्रेलर सार्वजनिक, सुरक्षा पन्तको तारिफ
यहि साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले चलचित्र परिमार्जित गरि प्रदर्शन गर्न लागिएसँगै सिनेमाको नयाँ ट्रेलर सार्वजनिक गरेको हो ।
गतवर्ष प्रदर्शनको दोस्रो दिनमा निर्माताले यो चलचित्रलाई हलबाट बाहिर निकालेका थिए । एकसाथ धेरै चलचित्र रिलिज हुँदा र अर्को मितिमा प्रदर्शनमा ल्याउने बाचासहित सिनेमामा केही दृश्य परिमार्जित गरिएपछि त्यही अनुसार नयाँ ट्रेलर सार्वजनिक गरिएको निर्माणपक्षको भनाइ छ ।
सार्वजनिक ट्रेलरमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको ट्रेलरले कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको सिनेमाको ट्रेलर हेरोसकेपछि कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको सिनेमाले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए ।
कार्यक्रममा बोल्दै उपसभापति खड्काले चलचित्र ‘बुलाकी’ कर्णाली र देशकै गहना रहेको र यसमा छुट्टै सांस्कृतिक महत्व रहेको बताए । ‘यो फिल्मले संस्कृती, संस्कार रितिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उथान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु’, खड्काले भने । कलाकारहरूको भुमिका प्रशंसनीय भन्दै अभिनेत्री सुरक्षा पन्तको तारिफ गरे ।
समाजका विभिन्न विधामा परिचीत अनुहार मात्र खोज्ने प्रवृत्ति बढेको भन्दै खड्काले नयाँ कलाकार हुने चलचित्र पनि राम्रो हुनसक्ने भन्दै स्टार र स्टारडमको मात्र पछि नलाग्न कटाक्ष गरे । अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिड्दा मात्र सफलता सम्भव हुने भन्दै ‘बुलाकी’को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन् ।
यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त
राजबहादुर सानेको कथा रहेको चलचित्रमा लक्ष्मी गिरी, सुशील पोखरेल, सरस्वती खत्री, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ ।
स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको चलचित्रको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।
यो चलचित्रलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।