‘नमेटिने घाउ’ सिनेमा हो कि डकुमेन्ट्री ?
सिनेमा खेलेर होइन प्रधानमन्त्रीज्यू, चलचित्रमैत्री कानुन बनाएर गुन लगाइदिनुस्
काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’को पोस्टर आज सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरको केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । ओलीलाई हाइलाइट गरेर पोस्टर सार्वजिनक भएको छ ।
पोस्टरमा प्रहरी र एसिड आक्रमणमा परेका व्यक्ति छन् । व्यवसायिक कलाकार पोस्टरमा छैनन् । यो चलचित्रमा पोस्टरमा समावेश नभए पनि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपा नेता तथा सांसद् ज्ञानेन्द्र कार्की, माओवादी नेता देवेन्द्र पौडेललगायत राजनीतिक नेताको पनि अभिनय छ । ओली प्रधानमन्त्रीको भूमिकामा यो सिनेमामा देखिनेछन् ।
ओली र नेपालले चलचित्रको छायांकनसँगै डविङ पनि गराइसकेका छन् ।
चलचित्रमा ३३ जना एसिड आक्रमणबाट पीडित भएकाको कथा प्रस्तुत हुने निर्देशक रमित ढुंगानाले बताएका छन् । चलचित्रले प्रदर्शन मिति पनि तय गरेको छ । भदौ ७ गते चलचित्र रिलिज हुनेछ ।
शनिबारसम्म चलचित्र डविङ भइरहेको थियो । छायांकन सकिएको नै धैरै भइसकेको छैन । काम गरिरहेका कलाकारभन्दा पनि ननएक्टरको संख्याको बाहुल्यता छ । कसरी सकिन्छ यति छिटो काम ? ननएक्टर पनि अभिनयका लागि ट्रेन्ड गर्न समय दिने खालका छैनन् । कि दिए रमितजी तपाईंलाई प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालले अभिनयमा ट्रेन्ड हुनका लागि समय ? कि वर्कसपमा बस्ने समय मिलाए ?
अभिनयमा प्रोफेसनल कलाकार छैनन्, सिक्नलाई उनीहरूसँग समय छैन । पोष्टप्रोडक्सनमा समय लगाएर काम गर्ने तपाइँमा धैर्यता छैन । रमितजी तपाईं चलचित्र भनेर डकुमेन्ट्री त बनाइरहनु भएको छैन ?
त्यस्तै देखिरहेको छ, तपाईंको कार्यशैली । राम्रो सिनेमा बनाउनभन्दा पनि प्रचारबाजीमा ध्यान दिइरहेको देखिएको छ । शान्त बसेर बलियो चलचित्र बनाउनभन्दा पनि प्रचारमा लाग्दा सिनेमाको गुणस्तरमा सम्झौता गर्नुपर्ने पो हो कि !
अनि देशमा राजनीतिज्ञले गर्ने काम थुप्रै छन् । समस्याहरू बेहिसाब छन् । जनताका माग सम्बोधन गर्न कति बाँकी छ, हिसाबकिताब छैन ।
तर, बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, संसदीय दलका सचेतक नै सिनेमा खेलेपछि राजनीति चाहिँ कसले गर्ने ? कि कलाकारले ?
राजनीतिज्ञले चलचित्रप्रति उदार हुनु राम्रो हो, सहयोग गर्नु झन राम्रो हो । सिनेमामा काम गर्दैमा आपत्ति जनाउनु पर्ने कारण पनि छैन ।
तर उनीहरूले सिनेमा खेलेर होइन देशमा सिनेमा फस्टाउने वातावरण बन्ने कानुन बनाएर सहयोग गरिदिनुपर्छ । चलचित्रमैत्री नीतिनियम र व्यवस्था बनाइदिनुपर्छ । त्यसो गर्नसके सिनेमा खेलेर लगाएको गुनभन्दा हजार गुणाभन्दा बढी गुन लाग्नेछ । चलचित्र क्षेत्रको उँभोगति सुरु हुन्छ होला नि होइन र ?