रोकिएन रि–रिलिजको लहर, व्यापार नभए पनि रोकिएन निर्माताको रहर
काठमाडौं । नेपाली चलचित्र रि–रिलिजको क्रम जारी छ । एकपछि अर्को चलचित्र रिलिज भइरहेका छन् । रिलिजको घोषणा गर्नेक्रम पनि जारी छ ।
साउन ३२ गते ‘बुलाकी’ रि–रिलिज हुँदैछ । त्यसपछि ‘नालापानी’ रिलिज हुनेछ । यसअघि चलचित्र ‘आचार्य’, ‘बिहेपास’, ‘चपली हाइट–३’, ‘कठपुतली’, ‘रेशम फिलिलि’, ‘छक्का पञ्जा–२’ लगायत चलचित्र पनि प्रदर्शन भएका थिए ।
अब यही भिडमा मिसन आउने भएको छ, चलचित्र ‘काँडेतार’ । नवल खड्काको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र रि–रिलिज हुने भएको हो । आउँदो वर्ष चलचित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष रहेको छ ।
यो चलचित्र गत वर्षको फागुन २५ गते रिलिज भएको थियो । चलचित्र नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथामा आधारित छ ।
चलचित्रमा निर्देशक खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्कालगायतको अभिनय रहेको छ ।
चलचित्र रि–रिलिज हुनेक्रम जारी रहे पनि दोस्रोपटकको प्रदर्शनमा चलचित्रले कमाए गरेको इतिहास छैन । त्यसैले रि–रिलज निर्माताको रहरजस्तो मात्रै देखिँदै आएको छ । आँखै अगाडि ब्यापार नभए पनि मेकरले दोस्रोपटक प्रदर्शन गर्न भने छोडेका छैनन् ।