तीन चलचित्रको दबाब परेकी आँचलका ६ तस्बिर

नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘वर एण्ड बधु’ यही भदौको १४ गतेदेखि रिलिजमा आउँदै छ । योसँग उनी अन्य तीन वटा सिनेमाको छायांकनमा व्यस्त हुँदै छिन् । जसका कारण आँचलका लागि भदौ महिना निकै सकसपूर्ण हुने देखिएको छ।

आँचलको हातमा रहेका चलचित्र मध्य ‘जेरी: अन टप’, ‘पीताम्बर’ र ‘दुःखी आत्मा’को छन् । यी सिनेमाको छायांकनका लागि उनले भदौमै समय जुटाउनु पर्ने भएको भने भदौ १४ गतेबाट रिलिज हुने चलचित्र ‘वर एण्ड बधु’को प्रमोशनलाई समय मिलाउन पर्ने प्रेसर पनि रहेको छ।

भदौ ३ गतेबाट चलचित्र ‘जेरी अन टप’ सुटिङमा जाने तयारीमा रहेको छ। सुयोग गुरुङको निर्देशनमा तयार हुने चलचित्रमा आँचलको साथमा अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको छ। यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्नेछन्।

निर्देशक कृषा चौलागाई निर्देशन गर्न लागेको चलचित्र ‘पीताम्बर’ भदौ १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको छ। यो सिनेमालाई पनि उनले समय दिनु पर्ने भएको छ । यता, भदौको तेस्रो हप्ताबाट उनले अभिनय गर्ने अर्को चलचित्र ‘दुःखी आत्मा’ फ्लोरमा जाने तयारीमा रहेको छ।

आँचल यतिबेला श्रीमान् उदिप श्रेष्ठको साथमा अमेरिकामा ‘मिस नेपाल नर्थ अमेरिका’ को फिनालेमा सहभागी हुन पुगेकी छिन्। उनी माथि तीन सिनेमाको दबाब रहेसँगै सेड्यूल मिलाउनुपर्ने हुन्छ । अब नेपाल आएर आफ्नो सेड्युल कसरी मिलाउँछिन्, त्यो भने हेर्न बाँकी रहेको छ।