karsang
Close Me

‘नमेटिने घाउ’को पोस्टरमा खचाखच पात्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’का दुई पोस्टर सार्वजनिक गरिएको छ । दुई दिनमा निर्माणपक्षले दुई पोस्टर सार्वजनिक गरेको हो ।

सोमबार सार्वजनिक पहिलो पोस्टरमा प्रधामन्त्री ओलीलाई प्राथमिकता दिइएको छ । बुधबार सार्वजनिक दोस्रो पोस्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्राथसमकता दिइएको छ । दुई पोस्टरका केन्द्रमा दुई नेता छन् ।

अब बाँकी नेताको पोस्टर आउन बाँक रहेको हुनुपर्छ । किनकी ज्ञानेन्द्र शाही र देवेन्द्र पौडेल पनि यो चलचित्रमा छन् ।

चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

पहिलो पोस्टरमा ओलीसहित १० जना छन् । दोस्रो पोस्टरमा नेपालसहित २० जना छन् । पोस्टरमा डिजाइनरलाई पात्रको अनुहार अटाउन हम्मेहम्मे परेको डिजाइन हेर्दा प्रष्ट हुन्छ । को–को चलचित्रमा छन् र कसकसको कथा समेटिएको निर्माणपक्षले पोस्टरमार्फत देखाउने तयारी गरेको बुझ्न सकिन्छ । नेता र पीडितको अनुहारलाई पब्लिसिटीको माध्यम बनाउन खोजेको देखिन्छ ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रमा प्रधानमन्त्री ओली र नेपाल तथा शाही र पौडेलसँगै प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई देख्न सकिने बताइएको छ । जसलाई पोस्टरले पनि पुष्टि गरेको छ ।

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाहको अभिनय छ ।

यस्तै वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।