‘के घर के डेराः घर नम्बर–२ को नाम किन राखिएन ‘के घर के डेरा–२’ ?
काठमाडौं । अघिल्लो पटक निर्देशक दीपेन्द्र के खनालले चलचित्रको नाम राखेका थिए, ‘के घर के डेरा’ । तर यो पटक उनले चलचित्रको नाम ‘के घर के डेराः घर नम्बर–२’ राखेका छन् ।
पहिलाको भन्दा अलि फरक छ नाम । किन ? जवाफमा दीपेन्द्र भन्छन्– यो सिक्वेल होइन त्यही भएर नाम ‘के घर के डेरा–२’ नराखिएको हो ।
उनका अनुसार सिरिज मात्रै हो । त्यसैले नाम ‘के घर के डेराः घर नम्बर–२’ राखिएको हो । सिक्वेल नभएकाले कथा पनि अघिल्लो सिनेमा जहाँ सकिएको हो त्यहीँबाट यो सिनेमाको कथा उठ्दैन ।
तर घर र डेराको कथा भएकाले केही हदसम्म मिल्ने उनको भनाइ छ । त्यसैले यसलाई सिक्वेलभन्दा पनि सिरिजका रूपमा आफूले बनाउन लागेको निर्देशक खनाल बताउँछन् ।
सिक्वेल नभएकै कारण कलाकार पनि ‘के घर के डेरा’का नरहेको उनले प्रष्ट पारे । अघिल्लो सिरिजका मुख्य कलाकार कोही पनि छैनन् ‘के घर के डेराः घर नम्बर–२’ मा ।
‘के घर के डेराः घर नम्बर–२’ निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिक्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, सिर्जना नापितलगायत छन् ।
तर, अघिल्लो चलचित्रमा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त मुख्य भूमिकामा थिए । ‘के घर के डेराः घर नम्बर–२’ यी कलाकार नहुनुको कारण सिक्वेल नभएको दीपेन्द्र बताउँछन् ।
यही शुक्रबारदेखि ‘के घर के डेराः घर नम्बर–२’ छायांकनमा जानेछ । चलचित्रको छायांकन काठमाडौंमा हुनेछ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको चलचित्रको कथा वुद्धिसागरले लेखेका हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।