karsang
Close Me

राजेशको कमब्याक सिनेमाको नाम नै द्वन्द्वप्रधान अर्थात् ‘नरसिंहा अवतार’

काठमाडौं । राजेश हमालको कमब्याक चलचित्रको नाम बिहीबार घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम ‘नरसिंहा अवतार’ राखिएको जनाएको छ ।

पोस्टरमा राजेश हमाल भने छैनन् । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले चलचित्रले युद्ध र शान्तिको संकेत गरेको छ ।

एक्सनप्रधान चलचित्रमा शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको छ । नरसिंहाको उग्र अवतार थिम पोस्टरमा छ । यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लगाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

निर्देशक दिवाकर भट्टराईले चलचित्र एक्सन ड्रामा हुने बताइसकेका छन् । चलचित्र ‘शकुन्तला’ यता उनले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । यो चलचित्र रिलिज भएको करिब आठ वर्ष भइसकेको छ ।

यो चलचित्रमार्फत राजेश आठ वर्षपछि ठूलो पर्दामा फर्किंदैछन् । त्यसैले यो सिनेमालाई राजेशको कमब्याक भनिएको छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन ।

राजेशको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । चलचित्रको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।

आइतबार अनटाइटल प्रोजेक्ट भन्दै राजेश र दिवाकारले एकै समय कागजी सम्झौता गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

दिवाकर निर्देशित चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।