‘नमेटिने घाउ’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एसिड सर्भाइभरको कथा देखाइएको छ । पीडितले न्यायका लागि गरेको संघर्ष पनि देख्न सकिन्छ ।
एसिड आक्रमण हुँदाको पीडा, पीडितले न्यायका लागि गरेको संघर्ष र राजनीतिम नेतृत्वले न्यायका लागि दिएको आश्वासन ट्रेलरमा देखाइएको छ ।
ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, माओवादी नेता देवेन्द्र पौडेल पनि समेटिएका छन् । उनीहरुका संवाद पनि ट्रेलरमा देख्न सकिन्छ ।
ओली चलचित्रमा प्रधानमन्त्रीकै भूमिकामा छन् । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रदर्शनमा आउनेछ ।
चलचित्रमा प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ ।
एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ ।