दीपेन्द्रले सुरु गराए ‘घर नम्बर २’को छायांकन

दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर-२’को छायांकन आजबाट सुरु भएको छ ।
नाग पञ्चमीको शुभ अवसर पारेर शुक्रबार ललितपुरको गोदावरीबाट शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो।
कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै छायांकन सुरु चलचित्रको सेड्यूल ३० दिनको राखेर तालिका तय गरिएको निर्माणपक्षले जानकारी गराएको छ ।
शुभसाइत समारोहमा सिनेमाका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । छायांकनको पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । शनिबारबाट सिनेमाका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी छायांकन सेटमा जोडिने निर्देशक खनालले जानकारी दिए ।
चलचित्र पहिलाको भन्दा अलि फरक रहेको र ‘के घर के डेराः घर नम्बर–२’को हो सिक्वेल नभएकाले निर्देशक खनाल बताउँछन् । उनका अनुसार सिरिज मात्रै हो । यो सिक्वेल होइन त्यही भएर नाम ‘के घर के डेरा–२’ नराखिएको हो । त्यसैले नाम ‘के घर के डेराः घर नम्बर–२’ राखिएको हो । सिक्वेल नभएकाले कथा पनि अघिल्लो सिनेमा जहाँ सकिएको हो त्यहीँबाट यो सिनेमाको कथा उठ्दैन, उनले भने ।
तर, घर र डेराको कथा भएकाले केही हदसम्म मिल्ने उनको भनाइ छ । त्यसैले यसलाई सिक्वेलभन्दा पनि सिरिजका रूपमा आफूले बनाउन लागेको निर्देशक खनाल बताउँछन् ।
सामाजिक विषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो चलचित्रको कथा बुद्धिसागरले लेखेका हुन् । चलचित्रमा कृष्णबहादुर थापाको छायांकन छ ।
‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । यो सिनेमालाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिँदै छ ।
यसै वर्ष रिलिज गर्ने तयारी राखिएको चलचित्रलाई काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्ने भएको छ ।