निताजी धेरै बिरालोले मुसा मार्दैन भन्ने त सुन्नु भएकै होला !
काठमाडौं । चलचित्रमा जति ठूलो जमघट हुन्छ, त्यति नै उनीहरुको स्टार छविलाई न्याय गर्न कठिन हुन्छ । हरेक पात्रको भूमिका सिनेमामा समानान्तर हुँदैन । कोही राम्रो भूमिकामा हुन्छन्, कोही ठिकठाक भूमिकामा मात्रै ।
कोही ग्रे जोनमा हुन्छन्, कोही हिरो त कोही भिलेन । त्यसैले जहाँ ठूलो जमघट हुन्छ, त्यहाँ कलाकारको व्यवस्थापन गर्न कठिन हुन्छ ।
उस्तै छवि भएका कलाकारलाई खुसी बनाउन उत्तिकै समानान्तर कथा र बराबरी प्रायः सिन बनाउने चक्करमा सिनेमाको कथा बिग्रिन्छ । तान्दा तान्दै र थप्दाथप्दै सिनेमा कथा बिग्रिन्छ । कथा बिग्रिएपछि भिजुअल त बिग्रिने नै भयो । भिजुअल बिग्रिनु भनेको चलचित्र बिग्रनु भइगयो ।
चलचित्र ‘ह्रस्व दीर्घ’मा कलाकारको ठूलो लाइनअप छ । नेपालदेखि दक्षिण भारतसम्मका कलाकार छन् । ती पनि नाम चलेका ।
नाम चलेका कलाकारले पारिश्रमिक पनि बढी लिने नै भए । जति धेरै कलाकार र पारिश्रमि छ, त्यति धेरै लगानी । जति धेरै लगानी हुन्छ त्यति फाइला कमाउन धेरै ग्रस कलेक्सन पनि गर्नुपर्छ ।
नाफा र घाटाभन्दा पनि पहिला त सिनेमा राम्रो बन्नुपर्छ । पछिल्लो समय नेपाली चलचित्रमा स्टार कलाकार धेरै राख्ने होड नै छ ।
स्क्रिप्ट कस्तो छ भन्दा पनि को–को कलाकार राख्दा सिनेमाको चर्चा हुन्छ भन्नेतर्फ निर्माता र निर्देशकको ध्यान गएको देखिन्छ । जबकी कलाकारले भनदा पनि अन्ततः चलचित्र चल्ने कथाले हो, सिनेमाको क्वालिटीले हो ।
चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय छ ।
नेपालीमा एउटा उखान छ, ‘धेरै बिरालोले मुसा मार्दैन’ । नीता जी कतै तपाईंको सिनेमामा पनि बिरालोको संख्या मात्रै धेरै हुने त होइन । त्यस्तो नहोस्, कलाकारको छवि अनुसारको सिनेमाको काम होस् । ‘ह्रस्व दीर्घ’ सबैले रुचाउने राम्रो सिनेमा बनोस्, हाम्रो अग्रिम शुभकामना ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउँदै छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।