‘बिहे भाको छैन…’मा के छ, के छैन ?

काठमाडौं । सम्पादनको टेबुलमा रहेको चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको गीतमा स्वर सविन सुवेदी र बेनिशा पौडेलको छ ।

दीपकराज गिरी र दीपक शर्माको शब्द लेखेका छन् । संगीत दीपक शर्माले भरेका छन् ।

गीतको स्थायी छ, ‘बिहे भको छैन…’ । गीतमा चलचित्रका मुख्य कलाकारद्वय दीपकराज गिरी र वर्षा शिवाकोटीको नृत्य छ ।

गीत लोकलयमा छ । केही टिपिकल शब्द छन्, जसले गाउँको छनक दिन्छ, लोकको सुवास दिन्छ । त्यसैले गीत दर्शकले रुचाउन सक्छन् ।

प्रेमिल गीत वास्तविकताको सेरोफेरोमा घुम्छ । रुमानी कल्पनामा भन्दा वास्तविकता संसारलाई गीतले टपक्क टिपेको छ । प्रेममा हुने छटपटि, सम्पत्ति नहुने केटालाई केटालाई छोरी दिन गाह्रो मान्ने प्रवृत्ति, सरकारी जागिरेप्रतिको आशक्ति र त्यसको लोभमा गीतमा छ ।

प्रेममा संसार बिर्सिने महत्वाकांक्षी युवती र आफूले टेकेको धरातल नबिर्सिने युवकको कथा गीतले भन्छ । प्रेमिकाप्रति आशक्त रहे पनि आश्वासन नबाड्ने प्रेमी गीतले देखाएको छ ।

गीतमा बिहे नभए पनि कुमारित्व नरहेको प्रशंग पनि छ । जुन अहिलेको यथार्थ होला । तर त्यसलाई भन्ने कि नभन्ने त्यो फरक–फरक विचार हुन सक्ला । गीत साहित्यको विधा भएकाले यतिसम्मको प्रयोगलाई कतिले सामान्य मान्लान् कतिले किन पनि भन्लान्, खैर यो व्यक्तिअनुसाको विचार आउने विषय हो ।

भिडियोमा दीपकको नृत्य सुधारिएको छ । नृत्य गर्न नजान्ने अभिनेताबाट यति स्टेप आउनु र फुलबडी खिच्दा पनि अस्वभाविक खासै धेरै नदेखिनुलाई राम्रो नै मान्नुपर्छ ।

गीतमा सिनेमा अन्य कलाकार छैनन् । प्रायः थोरै भए पनि अन्य कलाकार पनि देखाउने ‘छक्का पञ्जा’को विगत थियो । जुन यो गीतको भिडियोमा छैन । दीपक र वर्षाको सम्बन्ध संयोगान्त वा वियोगान्तमा टुंगिन्छ चलचित्रमा गीतले शंकाको सुविधा छोडेको छैन ।

‘छक्का पञ्जा–५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । असोज २४ गते रिलिज हुने चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय छन् ।