‘लाज शरणम्’को मुख्य भूमिकामा धुर्मुसको प्रवेश
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) फाइनल भएका छन् । सीताराम फाइनल भइसके पनि निर्माणपक्षले यसबारे जानकारी भने दिएको छैन ।
विपीन कार्कीलाई लिने तयारी गरे पनि समयअभावका कारण उनले नखेलेपछि सितारामको प्रवेश भएको हो ।
सितारामपछि दोस्रो लिड भूमिकामा सागर लम्साल (बले) हुनेछन् । यस्तै यो चलचित्रमा बविन राई (गल्फने बाजे)को पनि अभिनय रहनेछ ।
फिमेलतर्फ मुख्य भूमिकामा रेणु योगीको अभिनय रहनेछ । ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘लाज शरणम्’ निर्माणको घोषणा गरिएको थियो ।
‘लाज शरणम्’मा जिग्री र पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहनेछन् ।
सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयारी रहेको निर्माणपक्षले जनाएको छ । भदौमा यो चलचित्र छायांकनमा जाने बताइएको छ ।