‘ज्वाइँ साब’ले किन ‘छक्का पञ्जा’सँग भिड्न चाह्यो ?

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ले असोज २४ गतेलाई प्रदर्शन मिति तोक्दा यसले नेपाली सिनेमा उद्योकै सबैभन्दा ठूलो ब्रान्ड भ्यालु भएको चलचित्रको सिरिजसँग भिड्नु पर्ने भएको छ ।

मंगलबार ‘ज्वाइँ साब’को निर्माणपक्षले दुईवटा पोस्टर रिलिज गर्दै प्रदर्शन मिति तय गरेको थियो । उसले असोज २४ गते प्रदर्शनका लागि उपयुक्त डेट रोज्दा ‘छक्का पञ्जा ५’को सामना गर्नु पर्ने भएको छ ।

‘छक्का पञ्जा ५’ यो वर्षकै सर्वाधिक प्रतिक्षितमध्येको एक चलचित्र हो । बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रमध्येको एक ‘छक्का पञ्जा ४’ थियो । त्यसैले यो सिनेमा आफैँमा ब्रान्ड हो । यसमा दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्मा, वर्षा शिवाकोटीलगगायत कलाकार छन् ।

यता, ‘ज्वाइँ साब’को मुख्य भूमिकामा जितु नेपालमा छन् । जितु पहिला ‘छक्का पञ्जा’मा नै काम गर्दै आएका थिए । तर पछिल्लो समय उनी यो टिमसँग छैनन् । त्यसैले ‘ज्वाइँ साब’ व्यक्तिगत ‘इगो’का कारण त ‘छक्का पञ्जा ५’ले रोजेको डेटमा आएको होइन भनेर धेरैले शंका गरेका छन् ।

तर, ‘छक्का पञ्जा ५’का कलाकारसमेत रहेका यसका कार्यकारी निर्माता केदार घिमिरेले हास्य कलाकारबीच द्वन्द्व नरहेको भन्दै वार्ता र संवादमार्फत हल खोजिने बताएका छन् ।

दशैँको लामो बिदाको मौका पारेर आफूहरूले असोज २४ गते रोजेको ‘ज्वाइँ साब’को निर्माणपक्षले जनाएको छ । ब्रान्ड भ्यालु हाइ भएको ‘छक्का पञ्जा’लाई टक्कर दिन ‘ज्वाइँ साब’ निकै राम्रो बनेको हुनुपर्छ ।

अन्यथा ‘छक्का पञ्जा’को ब्रान्ड भ्यालुले यसलाई नकारात्मक असर पार्नसक्छ ब्यापारमा । ‘छक्का पञ्जा’ले उच्च शो पाउँदा ‘ज्वाइँ साब’ सीमित शोमा खुम्चिन सक्छ । त्यसैले ‘ज्वाइँ साब’ निकै राम्रो र दर्शकले रुचाउने चलचित्र बन्नु अनिवार्य छ ।

तर, दशैँमा ‘छक्का पञ्जा–५’ हेर्न ठूलो संख्यामा आउने दर्शकले टिकट नपाएर फर्किने अवस्थामा भने ‘ज्वाइँ साब’ले ओभरफ्लो दर्शक पाउन सक्छ । यो सुविधा भने यो सिनेमाले पाउनसक्छ । तर यसका लागि ‘छक्का पञ्जा–५’मा अनपेक्षित दर्शक आउनुपर्छ ।

वसन्त निरौलाले निर्देशन गरेको ‘ज्वाइँ साब’मा जितुको अपोजिटमा नीति शाह छिन् । चलचित्रमा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायत कलाकारको अभिनय छ ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

यो पनि पढ्नुहोस्

फूलपातीमा त्रिपक्षीय भिडन्त: ‘१२ गाउँ’ले लियो रिलिज डेट, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँग भिड्ने

मुकुन भाग्यमानी कि अभागी अभिनेता ?

‘लाज शरणम्’को मुख्य भूमिकामा धुर्मुसको प्रवेश

निताजी धेरै बिरालोले मुसा मार्दैन भन्ने त सुन्नु भएकै होला !