केदार जी ! जितुसँग ‘कन्फ्लिक्ट’ छैन भने वार्ता चाहिँ किन ?
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’सँग एकै दिन रिलिज हुन अरु दुईवटा सिनेमा आइपुगेका छन् । जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ असोज २४ गते आउने भएपछि एकै दिन तीनवटा नेपाली सिनेमा रिलिज हुने हालसम्मलाई पक्का भएको छ ।
सबैभन्दा पहिला ‘छक्का पञ्जा–५’ले रिलिज डेट लिएको हो । त्यसपछि ‘ज्वाइँ साब’ले सोही दिनमा आउने निर्णय गर्यो । ‘ज्वाइँ साब’ले जुन दिन रिलिज डेट घोषणा गर्यो । त्यही दिन राति ‘१२ गाउँ’ले पनि सोही दिन अथवा असोज २४ गते नै रिलिजमा आउने घोषणा गर्यो ।
‘ज्वाइँ साब’मा मुख्य भूमिकामा जितु नेपाल छन् । ‘छक्का पञ्जा’मा दीपकराज गिरी र केदार घिमिरे छन् । जो केही वर्ष अगाडिसम्म एउटै टिममा बसेर काम गर्थे ।
जितु दीपकराज गिरी र दीपाश्रीको टिमबाट अलग भएपछि व्यक्तिगत प्रतिसोधका कारण जितुको सिनेमा ‘छक्का पञ्जा–५’ आएकै दिन रिलिज भएको त होइन भन्ने प्रश्न उठ्यो । त्यसपछि केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘हास्य कलाकारहरूका बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन । यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ ।’
त्यसो त जुन घटना (मुन्द्रको कमेडी क्लबको अध्यक्ष परिवर्तन)ले जितु र दीपाश्री निरौलाबीच दूरी बढ्यो भनेर धेरै कुरा बाहिर आयो, त्यही समय नै उनीहरूले आफूहरूबीच कुनै असमझदारी नरहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् । उनीहरू सँगै सार्वजनिक स्थान र समारोहमा पनि देखिँदै आएका छन् ।
तर, त्यसपछि कुनै पनि चलचित्रमा सहकार्य गरेका छैनन् । ठिक छ, एकछिनलाई केदार घिमिरेको भनाइलाई नै सही मान्दिउँ, हास्य कलाकारबीच कुनै कन्फ्लिक्ट छैन । त्यसपछि उनकै यो वाक्य हेरौँ– यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ ।
‘कन्फ्लिक्ट’ नै छैन भने वार्ता र संवाद चाहिँ केका लागि हो ? जहाँ द्वन्द्व हुन्छ, जहाँ वैचारिक एकता हुँदैन र संघर्ष हुन्छ त्यहाँ मात्रै संवाद र वार्ता हुने होइन र केदारजी ?
भनिन्छ, एउटा झुट लुकाउन अर्को गल्ती गर्नुपर्छ । ढाँटेको कुरा काटे मिल्दैन ? त्यस्तै भएन र केदारजी ?
जे होस्, तपाईंहरूबीच कुरा मिलोस्, छुट्टाछुट्टै मितिमा सिनेमा रिलिज होस् । दुवै सिनेमाले बक्सअफिसमा भब्य कलेक्सन गरुन्, अग्रिम शुभकामना !