‘१२ गाउँ’को टिजर’मा देखिएन समीरको आकर्षक बडी

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार एक्सन प्याक्ड टिजर सार्वजनिक भएको हो ।

अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने सिनेमाको टिजरमा डेब्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजर हेर्दा सिनेमाले बदलाको कथा उठाएको बुझ्न सकिन्छ ।

गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनोमाका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सार्वजनिक टिजरमा योद्धाको रुपमा देखिएका समीरको संवाद छैन् । उनको सिक्स प्याक्ड बडी पनि छैन । पोस्टरमा आकर्षक बडीमा देखिएका उनलाई टिजरमा भने त्यसरी देखाइएको छैन । टिजरमा निर्माणपक्षले उनको स्वर र आकर्षक बडी दुवै लुकाइएको छ ।

समीरको यो डेब्यु सिनेमा हो । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो सिनेमाबाट आफूलाई एक्सन हिरोको रुपमा चिनाउने प्रयासमा छन् ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्ने चलचित्रका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।