सिनेमा जुधाएर निर्मातालाई घर न घाटको नबनाऊ
जानीबुझी यो दसैँमा कम्तीमा तीनवटा नेपाली सिनेमा एकै दिन रिलिज हुने भएका छन् । असोज २४ गते फूलपातीको दिन तीनवटा चलचित्र रिलिज हुने भएका हुन् ।
दसैँको लामो बिदालाई लक्षित गर्दै सिनमा एकै दिन रिलिज हुन लागेको मेकरहरूले बताएका छन् । अहिलेसम्म असोज २४ मा रिलिज डेक लक्ड गर्ने चलचित्रमा ‘छक्का पञ्जा–५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ छन् । यी मध्ये यो मितिमा रिलिज डेट लक्ड गर्नेमा क्रमशः ‘छक्का पञ्जा–५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ हुन् ।
यी चलचित्रले रिलिजका लागि एउटै मिति तय गर्नुमा सतहमा दशैँको लामो बिदा देखिए पनि वास्तविकता भने व्यक्तिगत इगो रहेको जानकारहरू बताउँछन् । कलाकार–कलाकार र निर्देशक–निर्देशकबीचको व्यक्तिगत इगोमा वितरक मिसिएपछि चलचित्रहरू जुध्ने गरेका छन् ।
कोही कसैको व्यक्तिगत इगो साध्ने नाममा निर्माताको करोडौँ रुपैयाँ भने बागमतीको पानी सरह बगिरहेको छ । कलाकार, निर्देशक र वितरकको व्यक्तिगत दुस्मनी र जुँगाको लडाइँमा निर्माताको करोडौं रुपैयाँ डुबिरहेको छ ।
निर्माताहरू निरीह बनिरहेका छन् । निर्माता रहे सिनेमा उद्योग रहन्छ । निर्माता रहे सिनेमा बन्ने हो । निर्माताको पैसा जोगिए र निर्माताले पैसा कमाएर फरि चलचित्र बन्ने हो ।
तर, कलाकार, निर्देशक र वितरक यो सत्यलाई बुझ्न चाहिरहेका छैनन् । एकपटक चलचित्रमा लगानी गरेर चर्लुम्म डुबेर नफर्किने निर्माताको संख्या अधिक छ नेपाली चलचित्र उद्योगमा । तर, यसलाई अनदेखा गरिरहेका निर्देशक, कलाकार र वितरक सिनेमा उद्योगलाई पूर्णव्यवसायिक र मर्यादित बनाउनतिर लाग्दैनन्, बरु च्याँखे थापेर बस्छन् । र, कहिले दाउ पर्छ र पैसा सोहोरौंला भनेर कुरेर बस्छन् । परिणाम अहिलेको चलचित्र क्षेत्र आँखै अगाडि छ । कस्तो छ, भुक्तभोगीलाई आन्तरिक नालीबेली थाहै छ । बाहिरबाट पर्दामा हेर्ने दर्शकलाई नेपाली सिनेमा कस्ता छन्, थाहै छ ।
उदेकलाग्दो पक्ष त के भने, चलचित्र निर्माताहरूको हकहितका लागि भनेर गठन गरिएको चलचित्र निर्माता संघ नामक एउटा संस्था छ । यो अहिले पनि अस्तित्वमै छ । तर यसले के गरिरहेको छ भन्ने चाहिँ कमैलाई थाहा होला ।
अनाहकमा सिनेमा जुधिरहेका छन्, निर्माताहरू बलिको बोको बनिरहेका छन् । तर संघ काठमाडौं सहरको कुन घरको अँध्यारो कोठामा निधाइरहेको छ चालखबर छैन । निर्माता डुबिरहेको आँखै अगाडि देख्दा पनि नब्युझिने कस्तो संघ हो यो ? निर्माता किन प्रश्न सोधिरहेका छैनन् ?
कार्यकाल सकिएपछि नयाँ नेतृत्व चयन गर्न ब्युझिने संस्था अरुबेला कुम्भकर्ण झैं निधाइरहन्छ । निर्माताको उठिबास लाग्दासमेत नउठ्ने यस्तो संघ चाहिँ किन चाहियो ? म अध्यक्ष/उपाध्यक्ष हुँ भनेर सिनेमाका एकाध कार्यक्रममा स्टेजमा गएर आसनग्रहण मात्रै गर्नका लागि हो भने यस्तो संघ बन्द गरे हुन्छ । निर्माताहरूकै अग्रसरतामा यो संघ खारेज गरिदिए हुन्छ ।
होइन भने निर्माताको उठिबास लागेको रमिते बनेर हेर्नलाई किन बर्सेनि सरकारलाई राजस्व तिर्ने दुःख गर्नुपर्यो ? जे होस्, आँखै अगाडि निर्माताहरूको पैसा डुबिरहेको छ । यो अवस्थाबाट निर्मातालाई यो संघले त केही काम गर्दैन भन्ने प्रष्टै भइसक्यो । त्यसैले निर्माता जोगिने हो भने, आफ्नो लगानी जोगाउने हो भने निर्माता आफैँ सक्रिय होऊ, जोगाइदिन कोही आउँदैन । आफैँ चनाखो होऊ । नत्र घर न घाटको हुनुपर्ला ।
यो पनि पढ्नुहोस्
मरेपछि होइन व्यक्ति जिउँदो छँदै सम्मान गर्ने संस्कार बसाऊ सरकार
बोर्डलाई कार्यकर्ता भर्तीकेन्द्र नबनाऊ, बनाउने भए बोर्ड नै खारेज गरिदेऊ
अनमोल कर तिर्ने पहिलो कलाकार हुन् ? हो भने स्यालुट ! होइन भने केको प्रचारबाजी ?
सिनेमा उद्योगकै हुर्मत लिने फेस्टिभल तत्काल बन्द गर
अर्काको हुर्मत लिनुअगाडि आफ्नै अनुहार हेर
बक्सअफिस रिपोर्ट सार्वजनिक गर, बदनाम हुनबाट बच
फुट्ने होइन जुट्ने गर, पैसा कमाउने भए एकै ठाउँ बस
पहिला रिलिज डेट नतोक, चलचित्र बनाऊ