karsang
Close Me

३० वर्षपछि सँगै काम गर्दै राजेश र सरोज

काठमाडौं । राजेश हमाल र सरोज खनाल कुनै समय नेपाली चलचित्रलाई एक्लै काँधमा बोकेर हिँडेका नायक हुन् । राजेश र सरोजको नाम लिँदा अहिले पनि नेपाली सिनेमा उद्योगका तत्कालीन समयका सिनेकर्मी र दर्शकको छाति गर्वले ढक्क फुल्छ । अहिलेका सिनेकर्मीको शीर सम्मानमा निहुरिन्छ ।

यी दुई नायकले केही सिनेमामा तत्कालीन समयमा सँगै काम गरेका थिए । उनीहरूले सँगै काम नगरेको कति समय भयो होला ?

सन् १९९४ सेप्टेम्बर २७ मा रिदिज भएको चलचित्र ‘सडक’मा राजेश र सरोजले सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त सिनेमा यता यी दुईले सँगै काम गरेका छैनन् ।

तर अब राजेश र सरोज सँगै एउटै चलचित्रमा काम गर्ने भएका छन् । उनीहरूले काम गर्न लागेको चलचित्र हो, ‘नरसिंहाः अवतार’ । यो सिनेमामा सँगै काम गर्दा राजेश र सरोज ३० वर्षपछि सँगै एउटै सिनेमामा देखिनेछन् ।

यो अवसर जुटाइदिने निर्देशक हुन्, दीवाकर भट्टराई । ‘नरसिंहाः अवतार’लाई दिवाकर भट्टराईले निर्देशन गर्दा दर्शकले राजेश र सरोजले स्क्रिन सेयर गरेको देख्न पाउनेछन् ।

दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बलियो छ ।

एक्सन तथा सोसल ड्रामामा बन्ने यो चलचित्रको शीर्ष भूमिकामा राजेश र सरोजसँगै नीति शाह, शनिसा भट्टराईलगायत कलाकार फाइनल भइसकेका छन् ।

राजेश हमाल भने यो चलचित्रबाट ८ वर्षपछि महानायक राजेश हमाल कमब्याक गर्दैछन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

चलचित्रमा चन्द्र पन्त र दिवाकरको कथा रहनेछ । चन्द्र यो चलचित्रका द्वन्द्व निर्देशक पनि हुन् ।