किन डिलिट गरे माग्ने बुढाले स्टाटस ?

काठमाडौं । दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ र जितु नेपालको ‘ज्वाइँ साब’ एकै दिन रिलिज हुने कुराले अहिले सिने नगरीमा बहस भइरहेको छ । त्यसमाथि विराज भट्टको चलचित्र ‘१२ गाउँ’ थपिएको छ ।

‘१२ गाउँ’ थपिए पनि चर्चा भने दीपकको ‘छक्का पञ्जा ५’ र जितुको ‘ज्वाइँ साब’को छ । यी दुई चलचित्रको चर्चा दीपकराज गिरी र दीपाश्री निरौला तथा जितुबीचको प्रोफेसनल सम्बन्धलाई लिएर भएको हो ।

किनकी सुरुका वर्षमा जितु र दीपकराज गिरी तथा दीपाश्री निरौलासँगै काम गर्थे । ‘छक्का पञ्जा–३’सम्म जितुले दीपक र दीपासँगै काम गरेका हुन् ।

पछि ‘मुन्द्रको कमेडी क्लब’को अध्यक्ष परिवर्तन गरेर जितुले दीपाश्रीको ठाउँमा करिस्मा मानन्धरलाई राखेपछि दीपक र दीपासँग जितुले सँगै काम गर्न नपाएका हुन् ।

त्यही व्यक्तिगत इगोका कारण त जितुले आफ्नो चलचित्र ‘ज्वाइँ साब’ अगाडि नै रिलिज डेट पक्का गरिसकेको ‘छक्का पञ्जा ५’सँग भिडाउन ल्याएका हुन् कि भन्ने चर्चा छ । तर यथार्थमा जाने हो भने चलचित्र रिलिजमा कलाकारभन्दा अहम भूमिकामा निर्देशक र निर्माता हुन्छन् ।

‘ज्वाइँ साब’ले रिलिज डेट लिएको केही समयमै ‘छक्का पञ्जा ५’ कार्यकारी निर्मातासमेत रहेका केदार घिमिरे ‘माग्ने बुढा’ले यस्तो स्टाटस लेखे, “हास्य कलाकारहरुका बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन । यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ ।”

तर, उनले यो स्टाटस लेखेको केही समयपछि नै सामाजिक सञ्जालबाट हटाए । अहिले गएर हेर्ने हो भने यो पोस्ट उनको फेसबुकमा भेटिँदैन ।

किन यो पोस्ट हटाए, त्यो त उनैलाई थाहा होला । तर सामान्य अर्थ लगाउने हो भने यो टिम उनले भनेजस्तो वार्ता र संवाद गरेर ‘ज्वाइँ साब’लाई असोज २४ बाट पछि धकेल्ने पक्षमा छैन ।

त्यसैले उनको विचारमा ‘छक्का पञ्जा’कै अन्य कलाकार सहमत हुन नसकेपछि उनी पोस्ट हटाउन बाध्य भए । केदारजी किन २४ घण्टा पनि आफ्नो विचारमा अडिन नसक्ने पोस्ट गर्नु भएको ? हतारमा पोस्ट गरेर फुर्सदमा पछुताउनुभन्दा सोचविचार गरेर आफ्नो विचार र धारणा राखेको राम्रो होइन र ?

त्यसो त हतारमा सिनेमा बनाएर डुबाउने र फुर्सदमा पुर्पुरोमा हात लगाएर बस्ने सिनेमा उद्योग र चलचित्र निर्माता तथा निर्देशकको प्रभाव परेको पनि हुन सक्ला !

यो पनि पढ्नुहोस्

केदार जी ! जितुसँग ‘कन्फ्लिक्ट’ छैन भने वार्ता चाहिँ किन ?

‘ज्वाइँ साब’ले किन ‘छक्का पञ्जा’सँग भिड्न चाह्यो ?

‘छक्का पञ्जा-५’को गीतमा ज्योति मगरको यस्तो आपत्ति

सिनेमा जुधाएर निर्मातालाई घर न घाटको नबनाऊ

बिहे भाको छैन…’मा के छ, के छैन ?