प्रिमियरमा ‘सतिदेवी’लाई प्रतिक्रिया– पितृसत्तात्मक सोचविरुद्धको आवाज
काठमाडौं । चलचित्र ‘सतीदेवी’को मंगलबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा भएको प्रिमियरमा सिनेकर्मी बाक्लो उपस्थिति थियो ।
भदौ ७ गते अर्थात् यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई प्रिमियरमा आएका कलाकारले छोराको चाहनामा छोरीलाई भेदभाव गर्ने पितृसत्तात्मक समाजको कथालाई सिनेमाले भनेको बताए ।
लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको सिनेमाको कलात्मक पक्षको प्रशंसा गरेका थिए । अहिले पनि समाजमा छोराको चाहनामा छोरीहरू जन्माउने र विभेद गर्ने कूसंस्कार रहेको प्रिमियरमा सिनेमा हेर्नेले बताएका थिए ।
प्रिमियर शोमा सिनेमा हेर्नका लागि अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, यांशु श्रेष्ठ, स्मिता लामिछाने, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, शोभित बस्नेत, अभिनेताहरू सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत लगायतका हल पुगेका थिए । यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि प्रिमियर शोमा ‘सतीदेवी’ हेरिन् ।
लक्ष्मण सुवेदी निर्देशित सिनेमामा मलिका महतको शीर्ष भूमिका छ । मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा सुवेदीकै पटकथा र संवाद छ ।