karsang
Close Me

‘नरसिंहाः अवतार’मा प्रशान्तको प्रवेश

काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको सिनेमाका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् ।

कलाकारको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो ।

निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । यस हिसाबले दिवाकरका अधिकांश चलचित्रमा प्रशान्त नछुटेको देखिन्छ ।

‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी गराए ।

यसअघि यो सिनेमामा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । निर्माणपक्षले यो फिल्ममा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा पनि केही खुलाइएको छैनन् ।

यही चलचित्र बाट ८ वर्षपछि महानायक हमालले कमब्याक गर्दैछन् । आठ वर्षभन्दा धेरै समय पछि हमाल सिनेमामा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो चलचित्र उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ ।

यता, क्याप्टेनपछि निर्देशक भट्टराईको चलचित्रमा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै सिनेमामा देखिन लागेका हुन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको चलचित्र ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त सिनेमापछि यी दुईले सँगै काम गरेका छैनन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र यही भदौको अन्तिम साता बाट छायांकननमा जाने तयारीमा रहेको छ । चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को सिनेमा ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो सिनेमाको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।