‘छक्का पञ्जा–५’ कसलाई झापड हान्दै हो, सरकारी कर्मचारीलाई ?

काठमाडौं । ‘छक्का पञ्जा’ टिम समाजको गम्भीर विषयवस्तु उठान गर्दै त्यसमा कमेडी घोलेर दर्शक तान्दै आएको सिरिज हो । जसले दर्शकको मन जित्दा लोभलाग्दो कमाइ गर्दै आएको छ ।
सामाजिक र राजनीतिक विषयवस्तुलाई सरल र रमाइलो ढंगले प्रस्तुत गर्नु यो टिमको विशेषता हो । यही विशेषतालाई दर्शकले खुला हृदयले स्वीकार गर्दै आएका छन् । जसका कारण यो सिरिज पाँचौं श्रृंखलासम्म आइपुगेको छ ।
वैदेशिक रोजगारीले घरपरिवार र श्रीमान श्रीमतीको सम्बन्धमा पारिरहेको प्रभाव, डिपेन्डेन्ट भिसाको चक्करमा विदेश जाने युवा पुस्तामा रहेको मोहले पारिरहेको प्रभाव, राजनीतिको थलो बनेका सरकारी स्कुल र शिक्षाका नाममा भइरहेको व्यापार र राजनीतिभित्रको राजनीति ‘छक्का पञ्जा’का आजसम्मका सिनेमाले भनेका कथा हुन् ।
अब यसको पाँचौं सिरिज लिएर दीपकराज गिरी र दीपाश्री निरौला आउँदैछन् । असोज २४ गते रिलिज हुने ‘छक्का पञ्जा–५’ले के विषयवस्तु उठान गर्दैछ ? आजसम्म निर्माणपक्षले बताएको छैन । यसका सदस्यले पनि कहीँ कतै यसबारे मुख खोलेका छैनन् ।
तर, अघिल्लो साता सार्वजनिक गीतबाट भने केही अनुमान लगाउन सकिन्छ । सरकारी जागिरेका रुपमा गीतमा सिनेमाका मुख्य कलाकार दीपकराज गिरी प्रस्तुत भएका छन् । यसले यो सिनेमाले यसपटक नेपाली ब्युरोक्रेसीको कथा भन्दैछन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
नेपालको निजामती कर्मचारीप्रति जनतामा ठूलो नैराश्यता छ । सरकारी कार्यालय भ्रष्टाचारको अखडा हो भन्ने जनतामा परेको छ । कर्मचारीतन्त्रमा रहेको व्याप्त भ्रष्टाचार र वेथितिलाई सिनेमाले मुख्य कथा बनाएको हो कि भन्ने गीतबाट अनुमान लगाउन सकिन्छ ।
कर्मचारीले मच्चाइरहेको लुटको कथा भनेर दर्शकको सेन्टिमेन्ट क्यास गर्ने पक्षमा यो टिम छ कि भन्ने अनुमान लगाउन सकिन्छ ।
गीतमा महत्वाकांक्षी युवतीले आफूलाई पाल्न कठिन हुने बताउँदा युवकले सरकारी कर्मचारी हुँ, सक्छु भन्नुले उसको अथाह कमाइ त्यहीँ भित्र छ भन्ने सन्देश प्रवाह भइरहेको छ । यसले पनि कर्मचारीतन्त्रको कथा यो पटक ‘छक्का पञ्जा’ले भन्न लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
बुलेट झैँ ट्वाक्क हुने संवादमार्फत् यसपटक ‘छक्का पञ्जा’ टिमले सरकारी कार्यालय र सरकारी कर्मचारीको मेख मार्लान् अथवा नर्मालान् त्यो त असोज २४ पछि थाहा होला । तर सरकारी कार्यालय र सरकारी कर्मचारीतन्त्रको बेथिति भने सहिनसक्नु भइसकेकाले यसलाई चिरफार गर्नु जरुरी भइसकेको मात्रै होइन ढिलो नै भइसकेको छ ।
स्थायी सरकार मानिने निजामति कर्मचारी प्रशासन नै भ्रष्ट भएपछि देशको हालत के होला ? आफनै अगाडि जगजाहेर छ नेपालको हालत कस्तो छ । त्यसैले पनि घिनलाग्दो भ्रष्ट कर्मममा अग्रसर व्यक्ति र प्रवृत्तिलाई झापड हान्न आवश्यक छ ।
आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।
चलचित्रमा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिकामा छन् । अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि अभिनेता तेज गिरी र आर्यन सिग्देलको पनि ‘छक्का पञ्जा ५’मा अभिनयको खुलिसकेको छ ।
अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।
हरि हुँमागाईको डिओपी, उत्तम हुमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।