‘आँखा’को टिजरमा सुकुम्बासी बस्तीको पीडा
काठमाडौं । असोज ११ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । टिजरमार्फत निर्देशक जौन योन्जनले चलचित्रले उठान गरेको विषयवस्तुलाई देखाउने प्रयास गरेका छन् ।
काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरले संकेत गरेको छ ।
पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी र स्थानीयले गर्दै आएको आन्दोलनको झझल्को टिजरले दिन्छ ।
लेखक तथा निर्देशक योन्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्दा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएका छन् ।
चलचित्रमा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।