‘पिताम्बर’मा एकपछि अर्को स्टार, कसको कस्तो भूमिका होला ?
काठमाडौं । चलचित्र ‘पिताम्बर’मा स्टार अभिनेताहरू थपिनेक्रम रोकिएको छैन । यसअघि नै बलियो लाइनअप देखिएको चलचित्रमा दयाहाङ राई पनि थपिएपछि पहिलो रोजाइका अभिनेताहरूको संखय थप बढेको छ ।
सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव, गौरव विष्ट, विशाल पहारी, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतको कलाकार यसअघि नै यो चलचित्रमा फाइनल भइसकेका छन् ।
कलाकारको यो लोभलाग्दो लाइनअपले सिनेमा कस्तो बन्ने हो भन्ने प्रतिक्षा र कौतुहलता अहिलेबाटै सुरु भइसकेको छ । सामान्यत एकभन्दा बढी अभिनेता हुँदा स्टोरी व्यवस्थापन गर्न कठिन हुन्छ ।
तर यो चलचित्रमा यति धेरै स्टार कलाकार अनुबन्ध हुँदा को कस्तो भूमिकामा हुन्छन् भन्ने जिज्ञासा दर्शकमा हुनु स्वभाविक हो । यसअघि नै सिनेमाको मुख्य पात्र अथवा ‘पिताम्बर’ को हो भन्ने प्रश्न उठिसकेको थियो । यसपछि पुनः दयाहाङ थपिएपछि उनी कस्तो चरित्रमा अनुबन्ध भए भन्ने कौतुहलता सिर्जना हुनु स्वभाविक हो ।
निर्देशक कृषा चौलागाईंले हरेक कलाकारको स्टारडमलाई न्याय गर्नेगरी ‘पिताम्बर’को कथा निर्माण गरिएको बताएकी छन् । चित्तबुझ्दो कथा र चरित्र नभए कोही पनि कलाकार कुनै पनि चलचित्रमा अनुबन्ध नहुने उनी बताउँछिन् ।
“हाम्रो सिनेमामा अनुबन्ध हुनु भएका हरेक कलाकारको चरित्र उत्तिकै महत्वपूर्ण र विशेष छ,” निर्देशक कृषा भन्छिन्, “पहिलो कुरा राम्रो भूमिका र अर्थपूर्ण चरित्र नभएसम्म कोही पनि अनुबन्ध हुँदैन । दोस्रो कुरा अहिलेको सर्वाधिक डिमान्डेड स्टार कलाकारलाई सुहाउँदो रोल नहुँदा अफर गर्न पनि अफ्ठ्यारो हुन्छ ।”
चलचित्रमा हरेक कलाकारको चरित्र, इन्ट्री र त्यसको प्रभाव उत्तिकै महत्वपूर्ण र दमदार हुने उनको दाबी छ । “दुई वा दुईभन्दा स्टार कलाकार एउटै सिनेमामा लिएर काम गर्नु र उनीहरूलाई चित्त बुझाएर कथा निर्माण गर्न सक्नु पनि एक प्रकारले सक्सेस नै हो,” निर्देशक कृषा भन्छिन्, “यो चुनौती हामीले मोलेका छौँ । त्यसैले पनि पिताम्बर विशेष र आम सिनेमाभन्दा फरक हुन्छ भनेर हामीले भनेका हौँ ।”
‘पिताम्बर’को पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै भएको थियो । सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन भएको थियो ।
अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमामो दोस्रो सेड्युलमा जोडिएका छन् । सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् ।
प्रदीप भारद्वाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।
यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।