‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सार्वजनिक
काठमाडौं । असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो ।
एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा वीबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्– भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।